काठमाडौं । रिलायन्स स्पिनिङ मिल्सले बुक बिल्डिङ विधिबाट सर्वसाधारण लगानीकर्तालाई साधारण सेयर (आईपीओ) निष्कासन गर्न धितोपत्र बोर्डबाट अनुमति पाएको छ ।
धितोपत्र बोर्डका अध्यक्ष नरेन्द्र कुमार रानाका अनुसार कम्पनीले सेयर निष्कासन गर्न बुधबार अनुमति पाएको हो । कम्पनीले सर्वसाधारणलाई प्रतिकित्ता ८२० रुपैयाँ ८० पैसाका दरले सेयर निष्कासन गर्ने छ ।
कम्पनीको सेयर भर्न लगानीकर्ताले ४१ हजार ४० रुपैयाँ खर्च गर्नु पर्ने छ । बुक बिल्डिङ विधिबाट जारी हुने आईपीओमा सर्वसाधारणले न्यूनतम ५० कित्ता आवेदन दिनुपर्छ । कम्पनीले सर्वसाधारलाई ११ लाख ५५ हजार ९ सय ६० कित्ता आईपीओ निष्कासन गर्ने छ ।
यसको बिक्री प्रबन्धकमा ग्लोबल आईएमई क्यापिटल रहेको छ । कम्पनीले यसअघि योग्य संस्थागत लगानीकर्तालाई सेयर निष्कासन गरिसकेको छ । योग्य संस्थागत लगानीकर्ताले कबोल गरेको मूल्यका आधारमा सेयरको कट अफ मूल्य प्रतिकित्ता ९ सय १२ रुपैयाँ रहेको छ ।
रिलायन्सले जारी पुँजी १ अर्ब ९० करोड रुपैयाँको १०.१४५ प्रतिशतले हुने १९ करोड २६ लाख ६० हजार रुपैयाँको १९ लाख २६ हजार ६ सय कित्ता सेयर जारी गर्न अनुमति पाएको छ । पहिलो चरणमा संस्थागत लगानीकर्ताका लागि माघ १० गतेदेखि १४ गतेसम्म ४० प्रतिशत अर्थात् ७ लाख ७० हजार ६४० कित्ता सेयरका लागि कबोल पेस गरेका थिए । रिलायन्सको आईपीओमा योग्य संस्थागत लगानीकर्ताहरूले पेस गरेको बोलपत्र माघ १५ गते खोलिएको थियो । त्यसपछि सर्वसाधारणका लागि सेयर निष्कासन गर्न लागेको थियो ।
प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !