ललितपुर । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको आयोजनामा जारी श्रमाधान रोजगार मेला विभिन्न जिल्ला हुँदै आजबाट ललितपुरको पाटनमा चलिरहेको छ । पाटनस्थित पाटन बहुमुखी क्याम्पसमा मंगलबार र बुधबार गरी २ दिन चल्ने छ ।रोजगारदाता र रोजगारको खोजीमा रहेका युवाबीच पुलको काम गर्ने गरी आयोजित मेलामा युवाहरुको उल्लेख्य सहभागिता रहेको छ ।
जुनसुकै जिल्लाबासी र जुनसुकै उमेरका इच्छुक आवेदनकर्ताले यो मेलामा नाम टिपाउनसक्ने गरी कार्यक्रम संयोजन गरिएको छ ।रोजगारी सिर्जना गर्न सरकारले लिएको नीति, बजेट तथा कार्यक्रमलाई कार्यान्वयन गर्न यो मेलाले मद्दत गर्ने रुमाधान मेलाका संयोजक डम्बर सुनुवार बताउँछन् । मन्त्रालयले आयोजना गरेको मेलाको संयोजन नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, नेपाल चेम्बर अफ कमर्स, होटल एसोसिएसन नेपाल, नेपाल तालिम तथा रोजगार व्यवसायी, नेपाल घरेलु तथा साना उद्योग महासंघले गरेका हुन्।
मेलामा रोजगारदाता तथा विभिन्न परामर्शदाता कम्पनी र सरकारी निकाय गरी ८० स्टल छन्।
कसरी जोडिने रोजगारमा ?
श्रमाधान रोजगार मेलामा नेपालभरीका जुनसुकै उमेरका मानिसले आफुलाई उपयुक्त लागेको क्षेत्र छानेर आवेदन दिन सक्नेछन् । आवेदन अर्थात मेलामा राखिएको स्टलमा आफ्नो नाम ठेगाना र फोन नम्वर भर्न सक्नेछन् । साथै कुनै व्यक्तिको पहिलेनै काम गरिसकेको अनुभव छ भने सो पनि उल्लेख गर्न सक्नेछन् । श्रमाधान मेलामा ३५० भन्दा बढी रोजगारदाता कम्पनीलाई जोडिएको छ । जगदम्बा स्टिल, डाबर नेपाल,बर्जर पेन्ट्स्,एसियन पेन्ट्स्,कुनाल फर्निचर,नेष्ट फर्निचर जस्ता ठूला उद्योगदेखि पाँच तारे होटल लगायतका कम्पनीहरुलाई रोजगारदाताका रुपमा मेलामा जोडिएको छ । त्यस्तै मेलामा कटिङमा १०० जना,सिलाइमा ५००० जना,लास्टिङमा २५०० जना,पेस्टिङमा ५०० जना,फिनिसिङमा २०० जना र डिजाइनरमा ५० जना पनि माग गरिएको छ।
मेलामा आउने धेरैलाई ‘अन द स्पट ‘जागिर पाइन्छ भन्ने भ्रम रहेको पाइएपनि फर्म भरेर छाडेकाहरुलाई आफ्नो आवश्यकता अनुरुपका आवेदकहरुलाई कम्पनीले फोन इमेल मार्फत डाकेर सोधपुछपछि जोडिने मेलाको स्टलमा कार्यरत एक कर्मचारीले बताए ।
गत जेठ १७ गते कोशी प्रदेशको बिराटनगरबाट शुरु गरिएको श्रमाधान रोजगार मेला कोशी, मधेश, गण्डकी, लुम्बिनी र कर्णालीमा आयोजना भइसकेको छ । बाग्मती प्रदेशको ललितपुरमा मेला भएसँगै श्रमाधान रोजगार मेला समापन हुनेछ ।
प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !