मेक्सिको सिटी । मेक्सिकोको पहिलो महिला राष्ट्रपतिमा क्लाउडिया शेनबाम निर्वाचित भएकी छिन् ।
मेक्सिको सिटी निवासी ६१ वर्षीय पूर्व मेयर तथा प्रशिक्षणद्वारा वैज्ञानिक बनेका उनले ५८ देखि ६० प्रतिशत मत प्राप्त गरेको ‘नेसनल इलेक्टोरल इन्स्टिच्युट’ले जनाएको छ ।
विशेष गरी दुई दर्जनभन्दा बढी आकाङ्क्षी स्थानीय राजनीतिज्ञहरूको हत्या भएको रक्तपातपूर्ण चुनावी प्रक्रियापछि भएको निर्वाचनमा मेक्सिकोले महिला नेतृत्व पाएको छ । मतदाताहरूको सुरक्षाका लागि हजारौँ सैनिकहरू तैनाथ गरिएको थियो ।
शेबनामले प्राप्त गरेको मत प्रतिशत उहाँको मुख्य प्रतिद्वन्द्वी जोचिटल गाल्भेजभन्दा ३० प्रतिशत अङ्कभन्दा बढी हो भने लामो समयदेखि मध्यमार्गी जोर्ज अल्भारेज मेनेजभन्दा ५० प्रतिशत अङ्क बढी हो ।
निर्वाचनमा अति हिंसात्मक लागूऔषध गिरोहले आतङ्कित पारेका क्षेत्रहरूमा छिटपुट हिंसाका बाबजुद ल्याटिन अमेरिकी राष्ट्र मेक्सिको भरिका मतदान केन्द्रहरूमा मतदाताहरूको भीड लागेको थियो ।
उनले आफू निर्वाचित हुन पहिले नै मतदान भएको दिनलाई ‘ऐतिहासिक दिन’ का रूपमा घोषणा गरेकी थिइन् । मतदानपछि शेबनामले आफूलाई आफैँले दिएको मत आफ्नो जीतका लागि नभई ९३ वर्षीया अग्रज वामपन्थी नेता इफिजेनिया मार्टिनेजको सम्मानका लागि भएको बताएकी थिइन् ।
“लोकतन्त्र दीर्घकालसम्म रहिरहनेछ,” शेनबामले आफू निर्वाचित बनेपछि शुभचिन्तक तथा सहयोगी कार्यकर्ताको भीडलाई सम्बोधन गर्दै घोषणा गरिन् ।
निर्वाचन सकिएपछि गाल्भेजले आफ्ना अनुयायीहरूलाई मतगणनालाई नजिकबाट नियाल्न आग्रह गरेकी थिइन् ।
“हामी अधिनायकवाद र सत्ताविरुद्ध प्रतिस्पर्धा गरिरहेका छौँ र उनीहरू जे पनि गर्न सक्षम छन्,” सिनेटर तथा आदिवासी मूलकी व्यवसायीसमेत रहेकी ६१ वर्षीया गाल्भेजले भनिन् ।
हरेक दिन करिब १० जना महिला वा बालिकाको हत्या हुने मेक्सिकोको सबैभन्दा अग्लो राजनीतिक सिसाको छाना एक महिलाले तोडेको भन्दै विजय र्यालीमा सहभागी महिलाले खुशी व्यक्त गरेका छन् ।
मेक्सिको सिटीकी ५५ वर्षीया क्लिनर क्लेमेन्सिया हर्नान्डेजले भने, “नवनिर्वाचित महिला राष्ट्रपति शेनबाम यो देशका लागि परिवर्तनको बाहक बन्नेछिन् । उनले महिलाका लागि अझ धेरै काम गर्नुहुनेछ भन्नेमा हामी विश्वस्त छौँ ।”
उनले भने, “मेक्सिकोमा धेरै महिला आफ्ना जीवनसाथीको अधीनमा छन् । उनीहरूलाई कामका लागि घरबाट बाहिर निस्कन दिइएको छैन । यस्तो अवस्थामा एक महिला देशको सर्वोच्च राजनीतिक पद धारण गर्न सक्नु समस्त महिलाहरूको विजय हो ।”
यद्यपि, ३० वर्षीया डेनिएला पेरेजले महिला राष्ट्रपति हुनु देशका लागि ‘ऐतिहासिक कुरा’ हुने बताइन् । राष्ट्रपतिका मुख्य दुवै उम्मेदवार उनको विचारमा ‘पूर्णतया नारीवादी’ थिएनन् ।
‘गोली होइन, अङ्कमाल’
राजनीति, अपराध र भ्रष्टाचारको पर्यायजस्तो देखिने मेक्सिकोमा लागूऔषध तस्करहरूले आफ्ना मनपर्ने उम्मेदवारलाई जिताउन निकै हदसम्म प्रयास गरे ।
निर्वाचन सुरु हुनुभन्दा केही घण्टाअघि हिंसात्मक पश्चिमी राज्यमा एक स्थानीय उम्मेदवारको हत्या भएको अधिकारीहरूले बताएका छन् ।
मध्य मेक्सिकोको पुएब्ला राज्यमा अज्ञात व्यक्तिले मतपत्र चोर्न मतदान केन्द्रमा आक्रमण गर्दा दुई जनाको मृत्यु भएको स्थानीय सुरक्षा स्रोतले एएफपीलाई जानकारी दिएको छ ।
हिंसाका कारण दक्षिणी राज्य चियापासका दुई नगरपालिकामा मतदान स्थगित गरिएको छ ।
शेनबामले राष्ट्रपति लोपेज ओब्राडरको गोली होइन, अङ्कमाल (हग्स नट बुलेट्स)भन्ने विवादास्पद रणनीतिलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेकी छिन् । यो नारा सज्जनको लागि झट्ट सुन्दा ठिक लागेपनि मेक्सिकाका हिंसाग्रस्त समुदायमा सक्रिय आपराधिक समूहसँगको अङ्कमाल देशका लागि घातक बन्ने उनका आलोचकले बताएका छन् ।
प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !