काठमाडौँ । सहकारी ठगी सम्बन्धमा गठन गर्ने भनिएको संसदीय छानबिन समितिको कार्यादेश (टीओआर)मा सहमति जुटाउन कार्यदल असफल भएको छ ।
शुक्रवार बिहान कानून मन्त्रालय सिंहदरबारमा कार्यदलको बैठक बसेको थियो । समितिको कार्यादेशमा उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको नाम राख्नु पर्ने कांग्रेसको अडानपछि सहमति जुट्न नसकेको हो ।
कार्यदलमा सहमति जुट्न नसकेपछि सरकारले विपक्षी दलको विरोधका बाबजुद संसदबाट सरकारका नीति तथा कार्यक्रम पारित गर्ने तयारी गरेको छ । आज एकैदिनमा छलफल टुंगाएर नीति तथा कार्यक्रम पारित गर्ने तयारी रहेको सत्तापक्षका एक सांसदले जानकारी दिए ।
कार्यदल र विपक्षी दलको बैठक कुरेर बिहान ११ बजेका लागि बोलाइएको बैठक १२ बजेसम्म शुरू हुन सकेको छैन । संसद् भवनमै विपक्षी दलको बैठक पनि बसेको छ । सभामुख देवराज घिमिरेको कार्यकक्षमा सत्तापक्षका सांसद र सरकारका मन्त्रीहरूले छलफल गरिरहेका छन् । विपक्षी दलको बैठकका कारण बैठक तत्काल शुरु हुने अवस्था नरहेको सभामुखका प्रेस विज्ञ शेखर अधिकारीले जानकारी दिए ।
जेठ १५ मा बजेट ल्याउनु पर्ने संवैधानिक बाध्यता रहेका कारण सरकारले आज जसरी पनि नीति तथा कार्यक्रम पारित गर्ने रणनीति बनाएको हो ।विपक्षी दलको अवरोधका बाबजुद गत मंगलबारको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ुप्रचण्डुले नीति तथा कार्यक्रम टेबल गरेका थिए ।
प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !