काठमाडौँ । भुमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव गोकर्णमणी दुवाडीले अर्थतन्त्रको एउटा महत्वपूर्ण खम्बामा धमिरा लागेको बताएका छन् । नेपाल बचत तथा ऋण केन्द्रिय सहकारी संघ (नेफ्सकुन) ले आयोजना गरेको लेखा सुपरीवेक्षण राष्ट्रिय गोष्ठीमा सचिव दुवाडीले अर्थतन्त्रको एउटा खम्बा कमजोर भएको बताएका हुन् ।
अहिले सहकारी अभियान भूमरीमा परेको छ । ‘सहकारीहरुले के कस्तो काम गरेका छन, के कस्तो कमी कमजोरी गरेका छन, आत्म समीक्षा गर्ने बेला भएको छ, अर्थतन्त्रमा ठूलो योगदान पुर्याएको क्षेत्र अहिले आफैं ठूलो समस्यामा छ, यसले अर्थतन्त्रमै ठूलो असर पुर्याउन सक्छ, त्यसैले सबै पक्ष सजग बन्नुपर्छ,’ सचिवले भने ।
सहकारीमा समस्या अहिले मात्रै भएको होईन । विगतका समस्या समयमै समाधान गर्न सकिएको भए अहिलेको परिस्थिति आउने थिएन। राज्य र अभियानले विगतका अभ्यासहरुबाट पाठ सिकेर अगाडी बढ्नु पर्नेमा उनको जोड छ ।
‘सहकारीमा मुद्दती निक्षेप राख्ने छैन, तर हामीले डबल पैसा दिन्छौं भनेर पैसा ल्यायौं, ब्याजको लोभमा फसाउँदै गयौं, तीन वर्षमा पैसा डबल दिने संस्था संसारमै कतै भेटिन्छ ? उनले प्रश्न गर्दै भने, ‘यो अवस्था आउनुमा दोष कस्को ?’ सचिवले भने ।
‘सबै सहकारी संस्थामा समस्या छैन, कोभिडको कारण असल चरित्र भएका ऋणीहरुलाई ऋण चुक्ता गर्न समस्या भएको छ । सबैले समस्या मात्रै देखेर हुँदैन ।आफूले आफूप्रति विश्वास गरौं, यो गम्भिर सवाल हो, अर्थतन्त्रको उतारचढावले पनि असलमा पनि खराब मनसाय सिर्जना हुन सक्छ, संस्थाले राम्रो भनेको कर्जा खराब निस्कन सक्छ, त्यसैले हरेक विषयमा गम्भीर भएर निर्णय लिनुपर्छ।’ सचिव दुवाडीले जोड दिए ।
प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !