काठमाडौँ । सिटिजन्स लाइफले गरेको अन्तरिम लाभांशको घोषणा कार्यान्वयन नहुने भएको छ । कम्पनीले बीमा प्राधिकरणबाट स्विकृति गराएर साधारणसभा मार्फत लाभांश घोषणा गर्नुपर्नेमा सो विपरित आफूखुशी शेयरको मूल्य वृद्धि गराउने अभिप्रायले नेप्सेमार्फत लाभांश घोषणाको सूचना निकालेपछि बीमा प्राधिकरणले अस्विकृत गर्दै घोषणा फिर्ता लिन भनेको हो । यस सम्वन्धमा प्राधिकरणले लाभांश वितरण अस्विकृत गरेपछि धितोपत्र बोर्डले पनि छानबीन प्रकृया अगाडि बढाएको छ ।
शेयरको भाउ बढाउने गरी आफूखुशी लाभांश वितरण गराउने कामलाई ‘इन्साइडर ट्रेडिङ’ गरेको मानिन्छ । यस्तो काम गर्ने कम्पनी कारबाहीमा पर्दछ । सिटिजन्स लाइफका सीईओ पोषण पाण्डेले बीमा प्राधिकरणबाट पछि स्विकृति लिने गरी नेप्सेमा जानकारी गराएर लाभांश घोषणा गरेको भन्ने जवाफ दिएपछि प्राधिकरणले कानुन विपरित रहेको र निर्णय तत्काल स्थगित गर्न निर्देशन दिएर उनलाई पठाएको प्राधिकरणका प्रवक्ता राजुरमण अधिकारीले वाणिज्यपोष्टलाई बताए ।
उता सिटिजन्स् लाइफले लाभांश वितरण गर्ने सूचना पाएलगत्तै सोमबार यो कम्पनीको शेयर सर्वाधिक रकमको कारोबार गर्ने कम्पनी बन्न पुग्यो । त्यस्तै कम्पनीको शेयर २ दशमलव ६१ प्रतिशतले वृद्धि हुनपुग्यो । बीमा प्राधिकरणले स्थगित गरेको लाभांश वितरण प्रकृया र धितोपत्र बोर्डले समेत अनुसन्धान र छानबीन थालेको कम्पनीको सोमबारको कारोबार रद्द हुनुपर्ने शेयर लगानीकर्ताहरुले माग गरेका छन् । साथै सर्वसाधारणलाई गलत काम गरेर झुक्याउने कम्पनीलाई हदैसम्मको कारबाही गर्न लगानीकर्ताले माग गरिरहेको सन्दर्भमा शेयर बजारमा राम्रो चलखेल हुने प्रष्ट देखिन्छ ।
प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !