काठमाडौँ । बैंकहरुमा अधिक तरलता भए पनि अन्तरबैंक ब्याजदर निरन्तर घटिरेको छ। पछिल्लो समय अन्तरबैंक ब्याजदर केन्द्रिय बैंकले राखेको लक्ष्य भन्दा तल बसिरहेको छ।
गत सोमबारसम्मको तथ्याङ्क अनुसार बैंकहरुको अन्तरबैंक ब्याजदर २.६९ प्रतिशत छ। केन्द्रिय बैंकले ३ प्रतिशतमाथि राख्ने लक्ष्य लिए पनि त्यो हुन सकेको छैनन्।
बैंकहरुमा अहिले पनि अधिक तरलताकै अवस्था छ। विगत केहि महिनाको तथ्याङ्क हेर्दा तरलता केहि घटे पनि बैंकहरुले अझै अधिक तरलताकै समस्या सामना गरिरहेका छन्।
नेपाल राष्ट्र बैंकका अनुसार बैशाख २० गतेसम्ममा बैंकहरुमा ८७ अर्ब ३३ करोड रुपैयाँ अधिक तरलता छ। यो सिआरआर बाहेकको रकम हो।
केहि महिना अघि बैंकहरुमा डेढ खर्ब बढीसम्मको अधिक तरलता थुप्रिएको थियो। तर अहिले तरलता केहि घटेको छ। सरकारले स्थानीय तहको पैसालाइ निक्षेपमा गणना गर्न नदिने भए पछि पनि बैंकहरुको तरलता केहि घटेको हो।
राष्ट्र बैंकका अनुसार एक साता अघिको तुलनामा अधिक तरलता ४ अर्ब २२ करोड रुपैयाँले घटेको छ भने एक महिना अघिको तुलनामा ५२ अर्ब ९८ करोड रुपैयाँले घटेको छ। यस्तै गत वर्षको तुलनामा ४५ अर्ब १६ करोड रुपैयाँले अधिक तरलता घटेको राष्ट्र बैंकले जनाएको छ।
पछिल्लो समय बैंकहरुमा निक्षेप संकलन बढिरहेको छ। कर्जा लगानी न्यून नै छ। ९ महिनामा पनि २ अर्ब पनि कर्जा जान सकेको छैन। यसले गर्दा बैंकहरुमा लगानीयोग्य रकम थुप्रिएर बसेको अवस्था छ।
गत सोमबारसम्मकै तथ्याङ्क अनुसार पनि बैंकहरुको सिडि रेसियो ८० प्रतिशतमा झरेको छ। अहिले ९० प्रतिशतसम्म कायम गर्न पाइने सिडि रेसियो ८० प्रतिशतमा झर्नुले पनि बैंकहरुमा अत्याधिक लगानीयोग्य रकम थुप्रिएको देखाउँछ।
कतिपय बैंकको पूँजीकोष दबावमा रहेको कारणले पनि ती बैंकहरुको सिडि रेसियो सहज भए पनि अहिले थप कर्जा दिन नसक्ने अवस्थामा छन्। जसले गर्दा सोचे अनुसार कर्जा समेत जान सकेको छैन।
प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !