काठमाडौँ । सरकारले बडो तामझामका साथ लगानी सम्मेलनको तयारी गरिरहँदा स्वदेशी लगानीकर्ताहरु भने आन्दोलनमा उत्रने भएका छन् । शेयर बजारका लगानीकर्ताहरुले शुक्रबार भृकुटी मण्डपमा भेला भएर संगठित रुपमा आन्दोलन चर्काउने निर्णय गरेका हुन् । भेलाले उपेन्द्र पाठकको नेतृत्वमा थप आन्दोलनका कार्यक्रमहरु घोषणा गरेको छ ।
यसअघि बिहीबार अर्थमन्त्रालयमा अर्थमन्त्रीसँग भेट गर्न पुगेका लगानीकर्ताहरुले भेट नपाएपछि अर्थमन्त्रीका वरिष्ठ आर्थिक सल्लाहकार सूर्यबहादुर थापासँग भेट गरी आफ्ना समस्या राखेका थिए । भेटमा लगानीकर्ताहरुले धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ती प्रकृया केले रोकेको भनेर समेत प्रश्न गरेका थिए ।
लगानीकर्ताहरुले सरकारले स्वदेशी लगानीकर्ताहरुको लगानी सुरक्षा गर्न नसकेको आरोप लगाएका छन् । लगानीकर्ताका अगुवा तिलक कोइरलाले लगानीकर्ताहरुको लगानी दैनिक घटेर खरानी हुने अवस्था आउँदा पनि सरकारले नीति नियम बदलेर भएपनि लगानीकर्तालाई राहत दिन नसकेको आरोप लगाए । कोइरालाले अर्थमन्त्रीले कसैको प्रभावमा परेर लगानीकर्ताहरुको माग ओझेलमा पार्ने काम गरेको आक्रोश पोखे । उनले थपे-‘कि त हाम्रो माग सरकारले पूरा गर्नुपर्छ, होइन भने यो जूवाघर बन्द गरिनु पर्छ ।’
केके छन् मागहरु ?
- शेयर धितो कर्जामा लगाइएको १५ /२० करोडको सीमा हटाइनुपर्ने ।
- शेयरकर्जामा लगाइएको जोखिमभार १२५ प्रतिशतबाट घटाएर १०० प्रतिशतमा झार्नपर्ने ।
- अल्पकालिन लगानीकर्तालाई ५ प्रतिशत र दीर्घकालिन लगानीकर्तालाई ३ प्रतिशतमात्र पूँजिगत लाभकर कायम गर्नपर्ने ।
- सक्षम र अनुभवी व्यक्तिलाई अविलम्ब धितोपत्र बोर्ड अध्यक्षमा नियुक्त गरिनुपर्ने ।
- प्रिमियममा आइपीओ निकाल्ने काम तुरुन्त बन्द गरिनुपर्ने ।
- व्यवसायीलाई पलायन गराउने बाफिया ऐनलाई व्यवहारिक बनाउनपर्ने ।
- बजारमा संस्थापक लगानीकर्ताहरुलाई प्रवेश गराउने,बेंक तथा वित्तीय संस्थालाई उनीहरुकै कोर क्यापिटलको निश्चित प्रतिशत रकम पूँजिबजारमा लगानी गर्न पाउने नीतिगत व्यवस्था गराउनपर्ने ।
प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !