लतिलपुर । नेकपा (एमाले) ले नयाँ सत्ता समीकरणले मुलुकलाई सही दिशामा लैजान थालेको निष्कर्ष निकालेको छ । लतिलपुर, च्यासलस्थित एमाले पार्टी कार्यालयमा आइतबार बसेको सचिवालय बैठकले नयाँ सत्ता समीकरणले सकारात्मक रहेको मुलुकलाई सही दिशामा ल्याउन सफल भएको जनाएको छ ।
बैठकपछि उपमहासचिव प्रदीप ज्ञवालीले उक्त जानकारी दिँदै सरकारले जनतालाई अझ विश्वास जगाउने काममा गति ल्याउनुपर्ने बताए । बैठकले यही वैशाख ८ र ९ गते हुने राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठकको कार्यसूचीसमेत तय गरेको छ । परिषद् बैठक गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रमा हुनेछ । परिषद्को बैठकमा दुई हजार एक सय ५३ महाधिवेशन प्रतिनिधिसहित करिब दुई हजार पाँच जना सहभागी हुने उपमहासचिव ज्ञवालीले बताए ।
बैठकमा अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदन, महासचिव शंकर पोखरेलको संगठनात्मक, अनुशासन आयोग, निर्वाचन आयोग, लेखा आयोग र सल्लाहकार परिषद्ले आआफ्नो प्रतिवेदन पेस गर्ने छन् । बैठकमा आगामी निर्वाचनमा एमालेलाई निर्णायक शक्ति बनाउनेबारेमा छलफल हुने उपमहासचिव ज्ञवालीले बताए ।
यस्तै बैठकले नेकपाको ७५औँ स्थापना दिवसमा विभिन्न कार्यक्रम गर्ने निर्णय गरेको छ । स्थापना दिवसको दिन वृत्तचित्र, झुलाघाट चिवाभन्ज्याङ पदयात्रा तथा सांगतिक कार्यक्रम गर्ने उनले बताए । स्थापना दिवसको दिन प्रमुख राजनीतिक दलका नेतालाई सम्बोधन गर्ने र पार्टीमा योगदान गर्नेलाई विशेष सम्मान गर्ने उनले बताए ।
प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !