महोत्तरी । हिजरी संवतको रमदान (रमजान) महिना समापन भइरहँदा देशका अन्य भागका साथै महोत्तरीका मुस्लिम बसोबास बाहुल्य भएका बस्तीमा ‘ईद’को चहलपहल सुरु भएको छ ।
रमदानभरि रोजा (व्रत, उपवास) बसेका मुस्लिम धर्मावलम्बी शव्वाल महिनाको पहिलो तारिखमै मनाइने ईद–उल–फित्र (बोलीचालीमा ईद) को तयारीमा लागेपछि आज मुस्लिम बाहुल्य बस्तीमा रौनक बढेको हो । हिजरी संवतको पात्रोअनुसार रमदान आज सकिएर भोलि बिहीबार शव्वाल महिना सुरु हुँदैछ । शव्वालको पहिलो दिन ईद मनाइन्छ ।
इस्लाम (मुस्लिम) परम्पराको मुख्य पर्व ईद मनाउन टाढाटाढा रहेका परिवारजन घर आएका छन् । भोलि मनाइने ईदका लागि सर्दाम जुटाउन लागिएको मटिहानी–८ नुरी बस्तीका २५ वर्षीय मोहम्मद इसराफिल राइन बताए । हिजरी संवतको पात्रोले आज रमदान सकिने उल्लेख गरे पनि इस्लाम परम्परामा सम्बन्धित क्षेत्रका अधिकारप्राप्त इमाम (धर्मगुरु) ले भरे साँझ द्वितीयाको चन्द्रमा देखिएको घोषणा गरेपछिमात्र भोलि ईद मनाउन बाटो खुल्ने भङ्गाहा–४ रामनगरका ५० वर्षीय सहबुल अन्सारीले बताए ।
इस्लाम परम्परामा चन्द्रमास (इस्लामिक पात्रोअनुसार) तालिकाअनुसार पात्रो बन्ने चलन छ । यसैले हिजरी संवत्का महिना सामान्यतया चन्द्रमा देखिने शुक्लपक्षको द्वितीया तिथिबाट सुरु हुन्छन् ।
रासस
प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !