काठमाडौँ । जर्मनी तथा युरोपेली युनियनको टोलीले निर्माणाधीन चिलिमे-त्रिशूली २२० केभी प्रसारण लाइन आयोजनाको स्थलगत अनुगमन गरेको छ ।
जर्मनीको आर्थिक सहायता तथा विकास मन्त्रालयकी एसिया निर्देशक गिजेला ह्याममरस्मिटको नेतृत्वमा युरोपेली युनियन, जर्मन विकास बैंक (केएफडब्लू)का प्रतिनिधि सम्मिलित टोलीले शनिवार आयोजनाअन्तर्गत निर्माणाधीन प्रसारण लाइन र सवस्टेशनको अनुगमन गरेको हो ।
आयोजनाअन्तर्गत रसुवाको आमाछोदिङमो गाउँपालिकास्थित थम्बुचेत र नुवाकोटको किस्पाङ गाउँपालिकाको पहिरेबेंंसीमा २२०/र १३२/३३ केभीको क्रमशः चिलिमे हव र त्रिशूली थ्री बी हब सवस्टेशन निर्माण अन्तिम चरणमा छन् । साथै, चिलिमे हबदेखि त्रिशूली थ्री बी हब सवस्टेशनसम्म २८ किलोमिटर २२० केभी प्रसारण लाइन निर्माण अन्तिम चरणमा छ ।
त्रिशूली नदी र त्यसका सहायक खोलाहरूमा निर्माणाधीन तथा निर्माण हुने जलविद्युत आयोजनाहरूको विद्युत राष्ट्रिय प्रणालीमा प्रवाह गर्न चिलिमे–त्रिशूली २२० केभी प्रसारण लाइन र चिलिमे तथा त्रिशूली थ्री बी हब सवस्टेशन निर्माण गरिएको हो ।
अनुमानित लागत तीन करोड ९० लाख अमेरिकी डलर रहेको आयोजनामा नेपाल सरकार तथा नेपाल विद्युत प्राधिकरणको लगानी र जर्मन विकास बैंक (केएफडब्लू)को अनुदान रहेको छ ।
युरोपेली युनियनले स्थापना गरेको युरोपेली लगानी बैंक ९ईआइबी०को आयोजनामा सहुलियतपूर्ण ऋण रहेको छ ।त्रिशूली थ्री बी हब सवस्टेशन र प्रसारण लाइन निर्माणको अनुगमन गरी टोलीले नेपाल विद्युत प्राधिकरण र आयोजना व्यवस्थापनसँग आयोजनाको प्रगति, समस्या, निर्माण सम्पन्न हुने मिति, ऊर्जा क्षेत्रमा थप लगानीको सम्भावना लगायतका विषयमा छलफल गरेको थियो ।
टोली प्रमुख गिजेला ह्याममरस्मिटले जोखिमयुक्त र कठिन हिमाली क्षेत्रमा पर्ने आयोजना निर्माण सम्पन्न हुने चरणमा पुग्नु खुशीको विषय भएको बताइन् ।नेपालको ऊर्जा क्षेत्रको विकासमा थप अनुदान दिन तयार रहेको प्रतिबद्धता जनाउँदै उनले लगानी आवश्यक पर्ने क्षेत्र पहिचान गरी प्रस्ताव गर्न प्राधिकरणलाई आग्रह गरिन् ।
प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले सवस्टेशन र प्रसारण लाइन आगामी वैशाखको दोस्रो हप्ता भित्र निर्माण सम्पन्न हुने जानकारी दिए ।
त्यस लगतै सञ्चालनमा ल्याउने गरी अन्तिम चरणका कामहरू भइरहेको उनले टोलीलाई जानकारी गराएका थिए ।भौगोलिक रुपमा अत्यन्तै जोखिमयुक्त र कठिन हिमाली क्षेत्रमा टावर बनाउनु पर्ने कठिनाइ रहेको उनले बताए ।
भीरैभीर रहेको र सडक नहुँदा ढुङ्गा गिट्टी, बालुवा, पानीलगायत टावरका सामग्री मान्छे या खच्चडबाट बोकाएर लैजानु पर्ने बाध्यता रहेको उनले बताए ।साथै बाढीपहिरो, ठेकेदारको कमजोर कार्यसम्पादन, वन क्षेत्रको जग्गा प्रयोगको समस्या, स्थानीयको अवरोध, कोभिड–१९ लगायतका कारणले आयोजनाको निर्माण प्रभावित हुँदै आएको उनले जानकारी दिए ।
प्रसारण लाइन समुद्री सतहबाट ६८० देखि २६०० मिटरसम्म पर्ने भूभागमा निर्माण गरिएको छ ।३३ वटा टावर पहुँच सडक नै नभएका ठाउँमा निर्माण गर्नु पर्ने अवस्था थियो । उक्त स्थानसम्म पुग्न छुट्टै पहुँच सडक निर्माण गरिएको छ ।
‘निर्माणमा केही ढिलाइ भएकोमा लगानीकर्ताहरूबाट विगतमा बारम्बार चासो र चिन्ता व्यक्त भइरहेको थियो, तर निरीक्षण भ्रमणका क्रममा कामले गति लिई उल्लेख्य प्रगति हासिल गरेको र भौगोलिक रुपमा अत्यन्तै जोखिमयुक्त र कठिन हिमाली क्षेत्रमा आयोजनाको काम भइरहेको देखेर टोलीले खुसी व्यक्त गर्दै यसको प्रशंसा गरेको छ’, कार्यकारी निर्देशक घिसिङले भने ।
आयोजना व्यवस्थापन, परामर्शदाता र ठेकेदार कम्पनीबीच छलफल गरी निर्माण कार्यमा ढिलाइ नगर्न, कामदार थपेर कामलाई तीव्रता दिन निर्देशन उनले निर्देशन दिए ।
कार्यकारी निर्देशक घिसिङले पछिल्लोपटक निर्माण सम्पन्न गर्न तय गरिएको समयसीमाबाट कोही पनि उम्किन नपाउने उनको भनाइ थियो ।आयोजना निर्माण सम्पन्न हुने समयसीमा दातृ निकायहरूको पनि ठूलो चासो र चिन्ता छ, यही लाइनमा जोडिने ११० मेगावाटको रसुवागढी जलविद्युत आयोजना तयारी अवस्थामा छ, लाइन बनाउन सकेनौं भने विद्युत् खेर फाल्नु पर्ने अवस्था छ’, घिसिङले भने, ‘यो या त्यो बहाना बनाएर अब कोही उम्किन पाउँदैन, सबै जिम्मेवार भएर अन्तिम प्रयास गरौं, हाम्रो तर्फबाट आवश्यक सहयोग र सहजीकरण गर्ने छौं ।’
कुल २८ किलोमिटर प्रसारण लाइनमा पर्ने ७५ वटा टावरहरूमध्ये ६५ वटाको जग हालिएको छ । बाँकी रहेका १० टावरको जग हाल्ने काम भइरहेको छ ।
५९ वटा टावर खडा गरिएको छ भने तीनवटाको काम भइरहेको छ ।
११ किलोमिटर तार तानिएको छ भने खडा गरिएका टावरमा तार तान्ने काम भइरहेको छ ।
चिलिमे –त्रिशूली थ्री बी हब प्रसारण लाइन अन्तर्गत चिलिमे–मैलुङ खण्ड २० किलोमिटर डबल सर्किट र मैलुङ–त्रिशूली थ्री बी हबसम्म ८ किलोमिटर चार (मल्टी) सर्किट लाइन निर्माण गरिएको छ ।
कोरियन कम्पनीहरूको अगुवाइमा निर्माणाधीन २१६ मेगावाटको माथिल्लो त्रिशूली–१ जलविद्युत आयोजनाको विद्युत जोड्नका लागि मल्टी सर्किट लाइन बनाउन लागिएको हो ।
माथिल्लो त्रिशूली–१ले मल्टी सर्किट लाइन बनाउँदा भएको खर्चको ६० प्रतिशत रकम बेहोर्ने छ ।
प्रसारण लाइन र सवस्टेशन निर्माणका लागि चिनियाँ कम्पनी पिङगाओ ग्रुप अफ कम्पनीसँग २०७४ को कात्तिकमा ठेक्का सम्झौता भएको थियो ।
ठेक्का सम्झौता २०७४ को पुसमा कार्यान्वयनमा आएको थियो ।
प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !