काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले खाजा खर्चलाई बचाएर बचत गर्ने बानी बसाइयो भने भविष्यलाई सुरक्षित गर्ने बताएका छन् । सोमवार काठमाडौंको ग्लोबल मनी वीकको अवसरमा राष्ट्र बैंकद्वारा आयोजित कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।
‘वचत भन्ने कुरा भविष्यमा कमाएर मात्रै गर्ने भन्नेकुरा होइन । बाल्यकालदेखि बानी बसाउने हो । खाजा खर्चलाई बचाएर बचत गर्ने बानी बसाइयो भने भविष्यलाई सुरक्षित गर्छ,’ गभर्नर अधिकारीले भने ।
यसैगरी, उनले ग्लोवल मनि विकको अभियान नेपालको दुर्गम क्षेत्रसम्म पुर्याइने बताएका छन् । उनले वित्तीय साक्षरता अभियान देशका दुर्गम क्षेत्र समेत पुर्याउन जरुरी रहेको बताए ।
गभर्नर अधिकारीले ग्लोवल मनि विकको अभियान शुरुवाती चरणबाटै सक्रिय रहेको बताए । उनले यो अभियानलाई राष्ट्र बैंकले अझ बिस्तार गर्ने प्रतिवद्धता जनाए ।
गभर्नर अधिकारीले वित्तीय साक्षरतालाई देशको कुना–कुना लैजाने योजना रहेको पनि उल्लेख गरे । उनले वित्तीय फ्रेमवर्कमा वित्तीय साक्षरता वित्तीय जागरणका रुपमा विद्यालय तहको पाठ्यक्रम (सेलेवस) मा पनि राख्नको लागि समन्वय भइरहेको जानकारी दिए ।
गभर्नर अधिकारीले कुनैपनि प्रोडक्ट बैंक तथा वित्तीय संस्थाहरुले ल्याउँदा वा नीति ल्याउँदा कार्यान्वयनमा जानको लागि वित्तीय चेतना हुन जरुरी रहेको औल्याए । उनले ग्लोवल मनी वीकलाई नेपालमा पनि यो अभियानलाई वित्तीय शिक्षको आधारका रुपमा लिएको उल्ल्लेख गरे ।
गभर्नर अधिकारीले सञ्चारमाध्यमहरुलाई पनि वित्तीय साक्षरता अभियानमा एकीकृत गर्ने व्यवस्था रहेको बताए । उनले पैसाको वचत गर्ने र भविष्यको लागि सुरक्षित राख्ने विषयलाई प्राथमिकता दिएर ग्लोवल मनि विक मनाउने गरिएको बताए ।
प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !