काठमाडौँ । केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) ले थुनामा राखेको १० जना बैंकर हाजिर जमानीमा थुना मुक्त भएका छन्। सिआइबीले कर्जाको दुरुपयोग गरेको आरोपमा तत्कालिन सेञ्चुरी कर्मसियल (प्रभु) बैंकका १० जना बैंकरलाई अनुसन्धानको लागि १७ दिन थुनामा राखेर रिहा गरेको हो।
सेञ्चुरी बैंकका पूर्व सिइओ, डिसिइओ सहित १० जना कर्मचारीलाई गत फागुन १५ गते सिआइबीले प्रक्राउ गरी अनुसन्धान तथा छानबिनका लागि भन्दै थुनामा राखेको थियो। सिआइबीले देउराली सहकारी संस्थाका सञ्चालक रबिन्द्र चौलागाईलाई सेञ्चुरीले धितो मूलायंकन भन्दा ४७ प्रतिशत बढी कर्जा दिएको भन्दै कर्जा दुरुपयोगको अभियोगमा कर्जा प्रवाह प्रक्रियामा संलग्न बैंकका सबै कर्मचारीलाई प्रक्राउ गरेको हो।
सिआइबीले कर्जा दुरुपयोगबारे अनुसन्धान गर्न बैंकरलाई थुनामा राख्न उच्च अदालत पाटनबाट पटक पटक गरी म्याद थप गर्दै १७ दिन थुनामा राखेर बयान लिँदै छानबिन गरिरहेको थियो। अदालतबाट बैंकरलाई आइतबारसम्म थुनामा राख्न पाउने म्याद पाएको भएपनि अनुसन्धान लामो चल्ने भएपछि दैनिक हाजिरी जमानीमा थुना मुक्त गरिएको सिआइबीको भनाई छ ।
प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !