काठमाडौं । नेपाल धितोपत्र बोर्डको अध्यक्ष पदका लागि आवेदन दिने आज अन्तिम दिन रहेको छ । पूँजीबजारको नियामक निकाय नेपाल धितोपत्र बोर्डको अध्यक्ष पद गत पुस २० गतेपछि रित्त रहेको छ । अध्यक्ष नियुक्तीका लागि गत माघ ३ गतेनै सरकारले राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मीन बहादुर श्रेष्ठको संयोजकत्वमा तीन सदस्यीय सिफारिस समिति गठन गरेको थियो । सो समितिका सदस्यहरूमा अर्थमन्त्रालयका अर्थ सचिव डा. कृष्णहरि पुष्कर र व्यवस्थापनका प्राध्यापक उदय निरौला रहेका छन् । सिफारिस समितिले फागुन १६ गते १५ दिनको समयसीमा तोकेर अध्यक्ष पदको लागि दरखास्त आवह्वान गरेको थियो । आगामी चार वर्षे कार्यकालका लागि बोर्डको अध्यक्ष पद नियुक्ती प्रक्रिया अघि बढाइएको हो ।
फागुन २९ गतेसम्म बोर्ड अध्यक्ष पदका लागि चार जनाको आवेदन परेको छ । बीमा प्राधिकरणका पूर्व अध्यक्ष निरञ्जीवी चापागाई , नेपाल धितोपत्र बोर्डका कार्यकारी निर्देशक द्वय डा. नवराज अधिकारी र कृष्ण पोखरेलका साथै नेपाल राष्ट्र बैंकका पूर्व डेपुटी गनर्भर शिवराज श्रेष्ठले आवेदन दिएको जानकारी सिफारिस समितिले दिएको छ । बोर्डको अध्यक्षको आकांक्षीका रुपमा नेप्सेका पूर्व प्रमुख कार्यकारी अधिकृत चन्द्र सिंह साउद, बोर्डका पूर्व कार्यकारी निर्देशक निरज गिरी , नेपाल राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशक डा. गोपाल भट्ट र बोर्डका कार्यकारी निर्देशक मुक्ति श्रेष्ठ पनि रहेका छन् ।
बोर्ड अध्यक्ष नियुक्तीका लागि दरखास्त आव्हान गर्नुअघि सिफारिस समितिले कार्यविधि तयार गरी सार्वजनिक गरेको थियो । अध्यक्ष नियुक्तीका लागि गठित सिफारिस समितिले बोर्ड अध्यक्षको नाम सिफारिस गर्दा आफ्नो कार्यविधि आफै निर्धारण गर्नुपर्ने व्यवस्था बमोजिम कार्यविधि तयार गरेको हो । सोही कार्यविधि अनुसार सिफारिस समितिले नियुक्ती प्रक्रियालाई अघि बढाएको हो ।
सिफारिस समितिले धितोपत्र सम्बन्धी ऐन , २०६३ को दफा ५ मा रहेको व्यवस्था बमोजिम तयार गरेको कार्यविधिमा बोर्डको अध्यक्षका लागि मान्यता प्राप्त विश्वविद्यालयबाट कम्तीमा स्नातकोत्तर उपाधि हासिल गरी धितोपत्र बजार व्यवस्थापन , पूँजी बजार विकास , आर्थिक , वित्तीय , वाणिज्य , व्यवस्थापन वा कानून क्षेत्रमा कम्तीमा सात वर्ष काम गरेको प्रतिष्ठित व्यक्तिहरूले मात्र आवेदन दिन पाउने व्यवस्था गरिएको छ । उमेरका हिसाबमा ३० वर्ष पूरा भई ६५ वर्ष उमेर ननाघेको हुनुपर्ने कार्यविधिमा उल्लेख छ ।
कार्यविधिमा उम्मेदवारको मूल्याङ्कन सम्बन्धी अंक भार चार शिर्षकमा विभाजन गरीएको छ । व्यावसायिक कार्ययोजनामा ४० अंक, शैक्षिक योग्यतामा १२ अंक, व्यावसायिक कार्ययोजनको प्रस्तुतीकरणमा १८ अंक र अन्तर्वार्तामा ३० अंक गरी १०० अंकको मूल्याङकन सम्बन्धी अमग्र अंक भार कायम गरिएको छ ।
उम्मेदवार छनौटका लागि सिफारिस समितिले सर्वप्रथम तोकिए बमोजिमको योग्यता र अनुभव भएका आवेदकहरूको दरखास्तसाथ पेश गरेको व्यावसायिक कार्ययोजनाको परिक्षण गर्नेछ । परिक्षणबाट प्राप्त अंकको आधारमा औसत अंक निर्धारण गरी व्यावसायिक कार्ययोजना बापत्को प्राप्ताङक गणना गरिनेछ । तोकिए बमोजिमको योग्यता र पेशागत अनुभव भएका आवेदकहरूको शैक्षिक योग्यता बापतको प्राप्ताङ्क तथा पेश भएको व्यावसायिक कार्ययोजना बापत्को प्राप्ताङकको योगफल निर्धारण गरी उच्चतम अंक प्राप्त गर्ने उम्मेदवारहरूमध्ये सम्भव भएसम्म पाँच जनाको संक्षिप्त सूची तयार गरी व्यावसायिक कार्ययोजनको प्रस्तुतीकरण एवम् अन्तर्वार्ताका लागि छनौट गरिनेछ ।
व्यावसायिक कार्ययोजनको प्रस्तुतीकरणका लागि छनौटमा परेका आवेदकहरूले तीस मिनेटको समय पाउनेछन् । व्यावसायिक कार्ययोजनको प्रस्तुतीकरण एवम् अन्तर्वार्ताका लागि छनौट भई व्यावसायिक कार्ययोजनाको प्रस्तुतीकरण एवम् अन्तर्वार्ताका लागि उपस्थिति उम्मेदवारहरूको शैक्षिक योग्यता बापत्को प्राप्ताङ्क, पेश भएको व्यावसायिक कार्ययोजना वापतको प्राप्ताङ्क , व्यावसायिक कार्ययोजनाको प्रस्तुतीकरणको औसत प्राप्ताङक तथा अन्तर्वार्ताको औसत प्राप्ताङ्कको योगफल निर्धारण गरी उच्चतम अंक प्राप्त गर्ने तीन जनाको नाम वर्णानुक्रमानुसार सिफारिस हुनेछ ।
तीन जनाभन्दा कम आवेदकको आवेदन परेको अवस्थामा पहिलो चरणमा परेका आवेदकहरूलाई यथावत् राखी थप आवेदनको लागि सात दिनको म्याद दिई पुनः दरखास्त आव्हान गरिनेछ । पुनः दरखास्त आव्हान गर्दा थप आवेदन परे वा नपरे पनि छनौट प्रक्रियालाई अगाडी बढाइनेछ । सुझाब समितिले तीन जनामध्ये योग्य एक जनाको नाम सिफारिस गर्नेछ । समितिले गरेको सिफारिसको आधारमा मन्त्रिपरिषदको बैठकले बोर्ड अध्यक्ष पदमा नियुक्ती गर्नेछ ।
प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !