काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय गौरवका आयोजनामध्ये चार वटाको प्रगति ८० प्रतिशतभन्दा माथि भएको बताएका छन् । बुधबार राष्ट्रिय सभाअन्तर्गतको राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठकमा बोल्दै प्रधानमन्त्री प्रचण्डले राष्ट्रिय गौरवका आयोजनाहरुमध्ये तीन वटा सम्पन्न भइसकेका बताए ।
त्यस्तै, उनले चार वटाको प्रगति ८० प्रतिशत माथि, छ वटाको प्रगति ५० देखि ८० प्रतिशतसम्म र छ वटाको प्रगति ५० प्रतिशतसम्म भएको जानकारी दिए ।
यसैगरी, पाँच वटाको प्रगति १० प्रतिशत मुनी रहेको उनको भनाइ छ । प्रधानमन्त्री प्रचण्डले सुनकोशी–मरिण ड्राइभर्सन द्रुत गतिमा सञ्चालनमा रहेको बताए ।
त्यस्तै विद्युत प्रशारण आयोजना भर्खर कार्यान्वयनमा गएको र राष्ट्रपति चुरे संरक्षण कार्यक्रम सन्तोषजनक रुपमा अगाडि बढेको उनको भनाइ छ । उनले बुढीगण्डकी जलविद्युत आयोजनामा लगानी जुटाउन कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष, नेपाली सेनाको कल्याणकारी कोष र नेपाल टेलिकम लगायतसँग छलफल भएको बताए । सो आयोजनालाई पेट्रोलियम पदार्थमा लगाइएको पूर्वाधार करबाट प्रतिलिटर पाँच रुपियाँ उपलब्ध गराउने व्यवस्था गरिएको उनले बताए । त्यस्तै व्यक्तिको अधिग्रहण गरिएका जग्गाको मुआब्जा वितरण गर्ने काम अन्तिम चरणमा पुगेको पनि उनले स्पष्ट पारेका छन् ।
प्रधानमन्त्री प्रचण्डले हुलाकी राजमार्गका बाँकी पुलहरुको निर्माणका लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई आगामी आवको बजेट तर्जुमाका क्रममा प्राथमिकतामा राख्न निर्देशन दिइएको बताए । उनले जयनगर–जकपुर–कुर्था–भगाहा रेलवेमा कम्पनीको जनशक्ति व्यवस्थाका लागि तालिमको व्यवस्था गर्न भारत सरकारसँग आवश्यक समन्वय भइरहेको जानकारी दिए ।
त्यस्तै, काठमाडौं–तराई/मधेश द्रुतमार्गको प्रवेश बिन्दु रहने खोकनाको जग्गा अधिग्रहणका लागि स्थानीय समुदायसँग छलफल भइरहेको उनले बताए । प्रधानमन्त्री प्रचण्डले वैकल्पिक व्यवस्था गरी मेलम्ची खानेपानी आयोजनाबाट दैनिक १७ करोड लिटर पानी काठमाडौं ल्याइएको बताए । उनले आयोजनाको हेडवक्र्स सम्मको पहुँचमार्ग हिउँदमा सञ्चालन हुनेगरी पुनर्निर्माण गरिएको पनि बताए ।
प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !