धनुषा । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम एवम् बजेटमा मधेशलाई विशेष व्यवस्था गरिने बताएका छन् ।
धनुषाको सबैला नगरपालिका वडा नं. ४ पटेर्वाघाट र सिरहाको कल्याणपुर नगरपालिको वडा नम्बर ५ जोड्ने पक्की पुलको शनिबार शिलान्यास गर्दै प्रधानमन्त्री प्रचण्डले अबको नीति तथा कार्यक्रम एवम् बजेटमा विशेष व्यवस्था गर्ने विश्वास दिलाएका हुन् ।
आफूले सरकारको नेतृत्व गरेपछि नेपाललाई खाद्यान्नमा आत्मनिर्भर बनाउने विषयलाई गम्भीरतापूर्वक लिएको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले तराईमा सिँचाइ, मलबिउको व्यवस्था गर्ने र कृषि प्रविधिलाई बढवा दिने कार्यमा लग्ने बताए ।
नेपालको अर्थतन्त्रमा गुणात्मक परिवर्तन गर्नका लागि ठुला आयोजना निर्माणमा सरकारले ध्यान दिएको बताउँदै उनले बुढीगण्डकी एवम् कर्णाली चिसापानीजस्ता गेम चेन्जर आयोजनालाई अगाडि बढाइने उल्लेख गरेका छन् ।
“मधेशको विकासबिना देशको विकास सम्भव छैन, मधेशको मुक्तिबिना देशको मुक्ति सम्भव छैन,” प्रधानमन्त्री प्रचण्डले भने, “मधेशी जनताको समृद्धि भएन भने देशको समृद्धि सम्भव छैन ।”
मधेश, पहाड र हिमालको एकताका लागि आफूले सिरहामा निर्वाचनमा भाग लिएको स्मरण गर्दै प्रधानमन्त्री प्रचण्डले मधेशी जनताको मत लिएर सङ्घीय गणतन्त्रको संविधान निर्माण गर्न पाएकोमा गर्व छ भने । उनले भने, “मधेश, पहाड र हिमालको एकतालाई सुदृढ गर्नका लागि सबैको पहिचान र अधिकारका लागि लडेको नाताले एकता कायम गर्न मेरो जिम्मेवारी छ ।”
४० वर्ष अगाडि भूमिगत कालमा आफू यस क्षेत्रमा आएको स्मरण गर्दै उनले सबैला, वस्तीपुरलगायतका क्षेत्रका जनतासँग आफ्नो नजिकको सम्बन्ध रहेको उल्लेख गरेका छन् ।
सिरहा र धनुषाका लागि पुल निर्माण महत्त्वपूर्ण हुने विश्वास व्यक्त गर्दै प्रधानमन्त्री प्रचण्डले यस क्षेत्रका जनताको जीवनस्तर सुधार्न आफू लागिपर्ने बताए । उनले पुल निर्माणमा बजेट व्यवस्था गर्न आफूले ध्यान दिने बताए । प्रधानमन्त्री प्रचण्डले निर्धारित दुई वर्षभित्र निर्माण सम्पन्न हुने विश्वास व्यक्त गरेका छन् ।
एक अर्ब ११ करोडभन्दा बढी लगानीमा निर्माण हुने यस पुलको लम्बाइ ६०० र ७ दशमलव पाँच मिटर चौडाइ रहेको छ । यस पुल निर्माणपछि दुई जिल्लाका जनतालाई आवतजावतमा सहयोग पुग्नेछ ।
प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !