माया जोसँगपनि हुनसक्छ। आमाबुबा र छोराछोरी बीच, दाजुभाइ र दिदीबहिनीबीच, श्रीमान् र श्रीमतीबीच अनि गर्लफ्रेण्ड र ब्वायफ्रेण्डबीच। उसो त माया गर्न रगतको साइनो नै चाहिँदैन। न त माया गर्नका लागि गर्लफ्रेण्ड र ब्वायफ्रेण्ड नै हुनुपर्छ। माया गुरु र चेलाबीचपनि हुनसक्छ। हो, यस्तै माया अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ।
कुरा पोखरा–१६ बाटुलेचौरस्थित गण्डकी बोर्डिङ स्कुलमा कक्षा ११ र १२ मा अध्ययनरत विद्यार्थी र अध्यापनरत शिक्षक अर्थात् शिक्षक र विद्यार्थी बीचको हो।
गत शुक्रबार सो विद्यालयमा भौतिक शास्त्र पढाउने शिक्षक सुजन लम्साललाई समन गुरुङ भन्ने विद्यार्थीले कक्षा कोठामा विद्यार्थीहरुबीच कुटाकुट गरिरहेको खबर सुनाए।
विद्यार्थीलाई माया गर्ने र सधैँ साथीको व्यवहार गर्ने भएकाले उनी विद्यार्थीहरुबीचप्रिय थिए। त्यसैले उनी झगडा छुट्याउन भनेर कक्षा कोठातिर दौडिए।
नभन्दै विद्यार्थीहरु झुम्म भएर बसेको हुल देखे। जहाँ झगडा गरेजस्तो हुल थियो। आफ्ना विद्यार्थी झगडा गरेको सुनेर आत्तिँदै पुगेका लम्साल विद्यार्थीलाई आत्तिँदै हटाउँदै बिचमा पुग्छन्।
जब उनी विद्यार्थीको हुल बिचमा पुग्छन् तब त्यहाँ रहेका एक विद्यार्थीले सम्पूर्ण विद्यार्थीको तर्फबाट फूलको गुच्छा दिँदै ‘ह्याप्पी बर्थ डे सर’ भन्छन्। त्यसपछि त्यहाँ रहेका सबै विद्यार्थीले एकै स्वरमा ‘ह्याप्पी बर्थ डे सर’ भनेर दोहोर्याउँछन्।
झगडा छुट्याउन भनेर पुगेका शिक्षक लम्साल जब विद्यार्थीहरुले आफ्नो बर्थ डे सरप्राइज रुपमा मनाउन बोलाएको थाहा पाउँछन् तब उनी भावुक र निःशब्द हुन्छन्। झगडा छुट्याउन हस्याङफस्याङ गर्दै पुगेका उनी सुरुमा त अलमलमा पर्छन्। तर सबै विद्यार्थीले एक स्वरमा जन्म दिनको शुभकामना दिएपछि भने भावुक हुन पुग्छन् र पालैपालो विद्यार्थीलाई अंकमाल गर्दै धन्यवाद ज्ञापन गर्छन्।
हो, यही भिडियो अहिले सामाजिक सञ्जाल ईन्ष्ट्राग्राममा भाइरल बनिरहेको छ। जुन भिडियो मंगलबार बिहानसम्ममा ३ करोड बढीले हेरिसकेका छन्।
शिक्षक लम्सालको बर्थ डे मितिले शनिबार थियो। तर शनिबार विद्यालय बन्द हुने भएपछि विद्यार्थीले शुक्रबार नै शिक्षक लम्सालको बर्थ डे मनाउने योजना बनाए। जसको चाँजोपाँजो विद्यार्थीहरु स्वयम्ले गरे।
बर्थ डे सेलेब्रेसन मात्रै होइन, त्यसको भिडियोसमेत खिच्ने प्रबन्धसमेत गरेका थिए विद्यार्थीले। त्यही भिडियो शनिबार ईन्ष्ट्राग्राममा अपलोड गरिएको थियो।शिक्षक लम्साल सधैँ विद्यार्थीलाई माया गर्थे। उनी हरेक विद्यार्थीको ख्याल गर्थे। विद्यार्थीलाई साथी सरह व्यवहार गर्ने उनी विद्यार्थीको बर्थ डेमा पनि सहभागी हुन्थे। बर्थ डे शुभकामना मात्रै दिँदैनथे उनी, बरु विद्यार्थीसँगै गीत गाउने, नाच्ने अनि रमाइलोपनि सँगसँगै गर्थे। जसका कारण उनी विद्यार्थीबीच प्रिय थिए।
विद्यार्थीको जन्म दिन मनाउने शिक्षक लम्साललाई यस पटक भने विद्यार्थीले सरप्राइज बर्थ डे मनाइदिए। जसका लागि विद्यार्थीहरु झगडाको नाटकसमेत गर्न तयार भए।
बर्थ डे सेलेब्रेसनसँगै आफूहरुले शिक्षक लम्सालप्रति कृतज्ञता ज्ञापन गरेको बर्थ डेमा सहभागी विद्यार्थी समन गुरुङले जानकारी दिए।
उनका अनुसार बर्थ डे सेलेब्रेसनमा विद्यार्थीले भनेका थिए, ‘जन्मदिनको धेरै धेरै शुभकामना सुजन सर। सधैँ बाहिर निस्कनु भएकोमा धन्यवाद, र हाम्रो लागि उत्कृष्ट दिनु भएकोमा, हाम्रो साथी भएकोमा धन्यवाद, हामीलाई ठूलो परिवार जस्तो महसुस गराउनु भएकोमा धन्यवाद। यो सरारत एक लिल ओभरबोर्डमा गएको हुन सक्छ, तर तपाईँको प्रयासले स्पष्ट रूपमा देखाउँछ कि तपाईँ प्रत्येकको कति ख्याल गर्नुहुन्छ।’ माया र फूलको गुच्छा पठाउँदै।
विद्यार्थीको सरप्राइज बर्थ डे सेलेब्रेसन र मायाले शिक्षक लम्साल गद्गद् छन्। विद्यार्थीको माया र सम्मानले आफूले गर्वानुभूति महसुस गरिरहेको शिक्षक लम्सालले बताए।
विद्यार्थीको माया र सम्मानप्रति म सधैँ ऋणी र अनुग्रहित छु, उनले भने, यो मेरो लागि जीवनको असाध्यै ठूलो सम्पत्ति हो। माया, स्नेह र सम्मानका लागि विद्यार्थीहरुलाई धेरै धेरै धन्यवाद।’
शिक्षक लम्सालले शिक्षक र विद्यार्थी फरक भएपनि सम्बन्ध राम्रो हुँदा त्यसको प्रभाव सकारात्मक हुने बताए।
‘शिक्षक, शिक्षक हो अनि विद्यार्थी विद्यार्थी हो, उनले भने, ‘विद्यार्थीले म शिक्षकसँग छु भन्ने बिर्सनुचाहिँ हुँदैन तर शिक्षकले विद्यार्थीलाई साथीजस्तै व्यवहार गर्दा, उनीहरूसँग हाँस्दै, रमाउँदै पढाउँदा पढाई प्रभावकारी हुन्छ, मैले त्यस्तै गरेर पढाएकैले होला विद्यार्थीले मलाई यो किसिमको सम्मान, माया र स्नेह देखाएको।’
विद्यार्थीको सरप्राइज बर्थ डेसँगै पाएको माया र सम्मानले आफूलाई विद्यार्थीको पढाइमा समर्पण र ऊर्जा थपेको उनको भनाई छ।
प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !