काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकले सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ) निवारण तथा व्यावसायिक वातावरण प्रवद्र्धन सम्बन्धी केही ऐनलाई संशोधन गर्ने विधेयक २०८० लाई बहुमतले पारित गरेको छ ।
बैठकमा कानुन न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले कानुन न्याय तथा मानव अधिकार समितिको प्रतिवेदनसहित प्रस्तुत गर्नुभएको विधेयक सभाले पारित गरेको हो ।
विधेयक माथिको छलफलमा सांसदहरुले उठाएका विषयमा जवाफ दिँदै मन्त्री गुरुङले गम्भीर वा जटिल प्रकृतिका आन्तरिक वा सिमापार हुने आर्थिक अपराधको नियन्त्रणले मात्रै राज्यलाई सही ढंगले अगाडी बढाउन सकिने बताए ।
विधेयकमा मुलुकको आर्थिक तथा वित्तीय प्रणालीको स्थायित्व कायम गर्न व्यवसायीक वातावरण प्रवद्र्धन गरी मुलुकमा वित्तीय पारदर्शीता, लगानीमैत्री वातावरण निर्माण र सुशासन कायम गर्न थप सहयोग पुर्याउने विषय समेटिएका छन् ।
बैठकमा सभामुख देवराज घिमिरेले प्रधानमन्त्रीसँगको प्रश्नोत्तर कार्यक्रम आगामी फागुन ६ गते हुने गरी निर्धारण गरेको जानकारी गराउँदै फागुन २ गते बुधवार ३ बजेसम्म आफ्ना प्रश्नहरू दर्ता गराउन सांसदहरूलाई आग्रह गरेका छन् ।
प्रतिनिधिसभाको अर्को बैठक फागुन ६ गते आइतबार बिहान ११ः०० बजे बस्ने छ ।
प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !