काठमाडौं । सोमबार सेयर बजारमा नेपाल टेलिकमको मूल्य अकस्मात् १० प्रतिशत बढेको छ । टेलिकमको मूल्यमा आएको उच्च वृद्धिले अन्य समूह सबैभन्दा धेरै ४.६८ प्रतिशत बढ्यो भने समग्र बजारको वृद्धिमा पनि योगदान पुग्यो ।
कम्पनीले २० औं वार्षिकोत्सव मनाउँदै गर्दा कारोबारको अन्तिम समयतिर एउटै ब्रोकर कम्पनीमार्फत धेरै सेयर खरिद भएको देखिएको छ । जसले गर्दा मूल्य पनि अन्तिम समयमा मात्रै १० प्रतिशत बढ्यो । नासा सेक्युरिटिज (ब्रोकर नम्बर ५८)मार्फत अन्तिम समयमा टेलिकमको धेरै सेयर खरिद भएको नेप्सेको फ्लोरसिटमा देखिन्छ ।
अघिल्लो दिन कारोबार बन्द हुँदा टेलिकमको सेयर मूल्य प्रतिकित्ता ८६५ रुपैयाँमा थियो । सोमबार ८७० रुपैयाँमा पहिलो कारोबार भए पनि कारोबार भइरहँदा न्यूनतम मूल्य ८६५ रुपैयाँ १० पैसासम्म झरेको थियो । अन्ततः बन्द हुँदा भने कम्पनीको मूल्य प्रतिकित्ता ९५१ रुपैयाँ ५० पैसा पुग्यो ।
१८ अर्ब चुक्ता पूँजी रहेको यस कम्पनीको सर्वसाधारण समूहमा जारी सेयर भने निकै न्यून छ । जम्मा ८.४७ प्रतिशत अर्थात् १ करोड ५२ लाख ४६ हजार कित्ता सेयर सर्वसाधारण समूहको छ । यहीं सेयर मात्रै बजारमा कारोबार हुने गर्छ ।
बाँकी ९१.५३ प्रतिशत सेयर सरकारी स्वामित्वको हो । कम्पनीले सेयरधनीलाई दिने लाभांशमा ४० प्रतिशतको सीमा घटाएको छैन । यसको प्रतिफल अन्यभन्दा राम्रो देखिन्छ।
प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !