काठमाडौँ ।अर्थमन्त्री प्रकाशशरण महतले विद्युतीय गाडीको प्रोत्साहन गर्नका लागि दिइएको छुटले ३५ अर्ब बढी राजस्व कम भएको बताएका छन् ।
भन्सार दिवसको अवसरमा आयोजित कार्यक्रममा अर्थमन्त्री महतले पेट्रोलियम पदार्थबाट चल्ने गाडीको तुलनामा विद्युतीय गाडी आयात हुँदा राजस्व अपेक्षित उठ्न नसकेको बताएका हुन् ।
“विगतमा गाडी आयात इन्धनमा आधारित भएकोमा अहिले विद्युतीय गाडीको आयात दोब्बर भएको छ,” महतले भने,”विद्युतीय गाडीको न्यून भन्सार दर रहेको छ। विद्युतीय गाडीका कारण ३५ अर्ब कम राजस्व उठेको छ ।”
उनले राजस्वका दृष्टिले अहिले दबाबमा रहेको बताए। लक्ष्यअनुसारको राजस्व नउठ्नुमा डिजिटल कारोबारलाई पछ्याउन समस्या देखिएको उनले बताए । व्यवसाय गर्ने शैलीमा व्यापक परिवर्तन आएको सन्दर्भमा भन्सार र राजस्व प्रशासन सोही शैलीबाट अघि बढ्नुपर्ने अर्थमन्त्री महतको भनाइ छ ।
उनले व्यवसायलाई अनलाइन प्रणालीमा ढाल्न नसके सबै किसिमका व्यवसायलाई हेर्न नसकिने बताए । उनले आन्तरिक राजश्व कार्यालय र भन्सार कार्यालयले आफूलाई प्रविधिमैत्री बनाउँदै लैजान जरुरी रहेको बताए ।
पूर्व अर्थसचिव कृष्णहरी बास्कोटाले भन्सार राजस्वमा सुधारका लागि कार्यसम्पादनमा आधारित छुट्टै भत्ता लागू गर्नु पर्ने बताए । उनले स्वदेशी उद्योग र कृषिलाई केन्द्रित गरेर भन्सार नीति अघि सार्नु सुझाए ।
नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले कारोबार मूल्यलाई मान्यता दिन आग्रह गरे । उनले औपचारिक व्यावसायिक वातावरण बनाउन, खुला सीमा नाकाबाट धेरै सामान आयात भएकाले त्यसलाई रोक्नुपर्ने बताए ।
नेपाल उद्योग परिसंघका अध्यक्ष राजेन्द्र अग्रवालले कच्चा पदार्थ र तयारी वस्तुबीचको भन्सार दरबन्दी दुई तह अन्तर गर्न आग्रह गरे । भन्सार विभागले आजबाट भन्सार जाँचपासमा डिजिटल हस्ताक्षर सुरू गरेको छ ।
प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !