काठमाडौं । अर्थमन्त्री डा प्रकाशशरण महतले राष्ट्रिय वाणिज्य बैङ्क सरकारी बैङ्क भएकै कारण अपेक्षित प्रगति गर्न नसकेको कटाक्ष गरेका छन् ।
राष्ट्रिय वाणिज्य बैङ्कको ५९ औँ वार्षिकोत्सवमा सम्बोधन गर्ने क्रममा अर्थमन्त्री महतले कर्मचारीहरु सुविधामात्र माग गर्ने तर आफूले संस्थाप्रति के कति गर्न सकियो भनेर पहिचान गर्ने परिपाटी नभएको भन्दै आलोचना गरे । उनले निजी स्तरमा खोलिएका बैंकहरु नम्वर एक भइरहँदा सरकारी संरचनामा बनेको वाणिज्य बैंक नम्वर वान हुने क्षमता हुँदा पनि बन्न नसक्नुमा कर्मचारीहरुमा सरकारी बैंक त होनी भन्ने सोचाई रहेको कटाक्ष गरे ।
सार्वजनिक बैंक भएकाले यो नम्बर वान हुन नसकेको उनको भनाइ थियो । व्यवस्थापक वा कर्मचारीले यो कुरा स्वीकार गर्न महतले आग्रह गरे । उनले भने‘यो कुरालाई स्वीकार गरेर हामी अगाडि बढ्यौं भने, कर्मचारीका सुविधाको कुरा केही पनि होइन । तपाईंहरुले माग गरेको ठूलो कुरा केही पनि छैन ।’
यो बैंकलाई नम्बर वान स्थानमा पुर्याउन व्यवस्थापन र कर्मचारीबाट प्रतिबद्ध आउनुपर्छ । उनले भने, ‘त्यसका लागि निजी बैंकले जस्तै व्यवस्थापनले ९ बजेसम्म काम गर्नुपर्यो भन्यो भने पनि तयार हुनुपर्छ । त्यहाँ यति बेला भन्न पाइँदैन । आज जतिबेलासम्म लाग्छ, त्यत्तिबेलासम्म काम गर्नुपर्छ । बजे भन्ने हुँदैन, अचेल बजे भनेको रिर्फेन्स मात्र हो । ५ बजेसम्म अफिस भनेको त्यो रिर्फेन्स हो । जति समय लागोस् काम पूरा हुनैपर्छ । यो हिसाबले बैंक अगाडि बढ्यो भने ट्रेड युनियनको माग केही पनि होइन ।’
ट्रेड युनियनका नेताहरुले माग मात्रै राख्ने तर समस्या समाधानका लागि कसरी पहल गर्ने भन्नेबारे सुझाव नदिने गरेको भन्दै अर्थमन्त्रीले संस्थालाई समृद्ध बनाएर मात्र आफ्नो सेवासुविधा माग गर्न उचित हुने तर्क गरे ।
प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !