काठमाडौँ । मुलुकमा उत्पादित अलैँचीको निर्यातमा वृद्धि भएको छ । अधिकांश वस्तुको निर्यात घटिरहेका बेला अलैँचीको निर्यातमा भने वृद्धि भएको हो । छ महिनामा समग्र निर्यातमा सात प्रतिशतले कमी आएका बेला अलैँची निर्यात भने बढेको हो । चालु आर्थिक वर्षको छ महिनामा करिब चार अर्ब रुपियाँ बराबरको निर्यात भएको छ ।
भन्सार विभागको तथ्याङ्क अनुसार चालु आवको साउनदेखि पुससम्म तीन अर्ब ९० करोड ७६ लाख ७९ हजार रुपियाँ बराबरको २८ लाख ६६ हजार ७६० केजी अलैँची निर्यात भएको छ । गत वर्ष सो अवधिमा तीन अर्ब ७४ करोड १६ लाख रुपियाँ बराबरको ११ लाख ६८ हजार ३०६ केजी अलैँची निर्यात भएको थियो । गत वर्षको तुलनामा चालु आवमा १६ करोड रुपियाँ बराबरको अलैँची निर्यात बढेको छ । नेपालमा उत्पादित वस्तुमध्ये सर्वाधिक निर्यात हुने वस्तुमा अलैँची रहेको छ । स्वदेशमा उत्पादन हुने अलैँची उच्च गुणस्तरको हुने हुँदा अन्तर्राष्ट्रिय बजारमा यसको माग उच्च हुने गर्छ ।
छिमेकी मुलुक भारतमा अलैँची निर्यात हुने गरेको छ । यो वर्ष अलैँचीको मूल्यसमेत बढेको छ । व्यवसायीका अनुसार पूर्वी जिल्लामा उत्पादन हुने अलैँची प्रतिमन ९४० किलोग्राम० ७० देखि ८० हजार रुपियाँमा कारोबार भएको छ । गत वर्ष अलैँची प्रतिमन २६ देखि अधिकतम ३५ हजार रुपियाँसम्ममा कारोबार भएको थियो । यस वर्ष अलैँचीको मूल्य दोब्बरले वृद्धि हुँदा किसान उत्साहित भएका छन् ।
नेपालको पूर्वी जिल्लामा उत्पादन हुने अलैँची जर्मनी, भारत, इटाली, पाकिस्तान, अमेरिकालगायतका देशमा निर्यात हुने गर्छ । नेपाली अलैँची निकासी हुने ठुलो बजार भनेको भारत नै हो । अलैँची औषधी र मसलाका रूपमा प्रयोग गर्ने गरिन्छ । अन्तर्राष्ट्रिय बजारमा अलैँचीको माग बढ्दै गए पनि खेती गर्ने क्षेत्रफल भने घट्दै गएको छ। अलैँचीको प्रयोग गर्दा स्वास्थ्यका लागि लाभदायक हुने बताइएको छ । खाना खाइसकेपछि अलैँचीको सेवन गर्नाले यसमा हुने रासायनिक गुणले खाना पचाउनुका साथै रगत सफा गर्न मद्दत गर्नुका साथै पेटमा ग्यास्ट्राइटिस तथा अल्सर हुनबाट रोकिने चिकित्सकको भनाइ छ । पानीमा अलैँचीको धुलो, अदुवाको रस तथा एक चिम्टी हिङ राखेर पिउनाले पेटसम्बन्धी समस्याबाट छुटकारा पाइने बताएको छ ।
वैदेशिक व्यापार घाटा कम गर्न योगदान पुर्याउने अलैँची नेपालका ४३ भन्दा बढी जिल्लामा व्यावसायिक रूपमा उत्पादन हुँदै आएको छ। कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार आव २०७८र७९ मा १५ हजार ९७५ हेक्टर क्षेत्रफलमा आठ हजार ७१४ मेट्रिक टन अलैँची उत्पादन भएको छ । यस्तै आव २०७७र७८ मा १५ हजार ६६८ हेक्टर क्षेत्रफलमा आठ हजार २८९ मेट्रिक टन अलैँची उत्पादन भएको छ ।
प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !