काठमाडौं । नेपालले भारतलाई ढल्केपुर–मुजफ्फरपुर प्रसारणलाइनबाट मात्रै १००० मेगावाट बिजुली पठाउने भएको छ । धनुषाको मिथिला नगरपालिकामा पर्ने ढल्केबरदेखि भारतको मुजफ्फरपूरसम्मको प्रसारणलाइन क्षमता बढाउन सरकारले भारतसँग सम्झौता गरेको हो ।
गत फागुन ६ गते भारतको राजस्थानमा बसेको दुई देशका ऊर्जा सचिवस्तरीय संयुक्त निर्देशक समितिको बैठकमै सो प्रसारणलाइनबाट आयात–निर्यात क्षमता बढाउने सहमति भएको थियो ।
गत बिहीबार भारतीय विदेशमन्त्री एस. जयशंकर आउनासाथ द्विदेशीय दीर्घकालीन विद्युत व्यापार सम्झौतामा दुई देशका ऊर्जा सचिवले हस्ताक्षर गरेका थिए । जयशंकर आउनु अगावै उच्चस्तरीय प्रतिनिधिमण्डल पठाएको भारतले नेपालमा उत्पादित बिजुली सस्तो कच्चापदार्थको रूपमा लैजाने वातावरण बनाउन सक्दो प्रयास गरेको थियो ।
सोही प्रयासस्वरूपः भारतले ढल्केबर–मुजफ्फरपुर प्रसारणलाइनको क्षमता बढाउन द्विपक्षीय सहमति बनाउन सफल भएको हो । ढल्केपुर–मुजफ्फरपुरबाट हाल ६०० मेगावाट विद्युत आयात–निर्यात हुने गरेको छ ।
हाल सो प्रसारणलाइनका तीन ट्रान्सफर्मरको क्षमता ८०० मेगावाट छ । १००० मेगावाट क्षमताको ट्रान्सफर्मर राख्दै प्रसारणलाइनको क्षमता पनि २०० मेगावाट बढाएर भारततर्फ १००० मेगावाट बिजुली लैजान भारतले सहमति जनाएको हो ।
हाल भारतीय कम्पनी सतलज जलविद्युत निगम (एमजेभीएन)ले संखुवासभामा निर्माण गरिरहेको अरूण तेस्रो तथा अरूण चौथो र तल्लो अरूणको बिजुली लैजानेगरी भारतले ढल्केबरदेखि सीतामढीसम्म ४०० केभी क्षमतायुक्त डेडिकेटेड प्रसारणलाइन निर्माण गरिरहेको छ ।
नेपालतर्फ यसअघि नै तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले २०७७ माघ १९ गते ढल्केबरमा देशकै ठूलो र पहिलो ४०० केभी सबस्टेशन उद्घाटन गरेका थिए ।
भारतीय विदेशमन्त्री नेपाल भ्रमणमा रहँदा प्रधानमन्त्री पुष्पकमल दाहालले १० वर्षमा १० हजार मेगावाट बिजुली भारतलाई बेच्नेगरी ऊर्जा मन्त्रालयस्तरीय सम्झौता गर्न लगाएका थिए ।
प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !