काठमाडौँ । उच्च अदालत पाटनले सबैलाई ईपीएस भाषा परीक्षामा सहभागी गराउन आदेश दिएको छ । शुक्रबार न्यायाधीश चन्द्रमणि ज्ञवालीको इजलासले सबैलाई ईपीएस भाषा परीक्षामा सहभागी गराउन आदेश दिएको हो । ईपीएस कोरिया भाषा परीक्षाको सिप बिल्डिङ(पानी जहाज निर्माण) मा अनुत्तीर्ण भएका मध्ये १८ जना परीक्षार्थीले मात्र उत्पादनमूलक क्षेत्रमा आवेदन दिन पाउने गरि यसअघि आदेश भएपछि पुन रिट दायर भएको थियो ।
“निवेदकहरुलाई पर्न सक्ने अपूरणीय क्षति तथा सुविधा सन्तुलनको दृष्टिकोणबाट यी निवेदनहरुलाई आवेदन फारम भर्नबाट वञ्चित गर्न मनासिब नहुँदा निवेदकहरु लगायत निवेदक सरहका समान प्रकृतिका इच्छुक व्कयत्हरुलाई उल्लेखित मिति २०८०/८/१९ को सूचना बमोजिम ९र२ बाट खुला गरिएको आवेदन फारम भर्न रोक नलगाउनु र परीक्षा आवेदन फारम भर्न दिनु दिलाउनु भनि विपक्षीहरुको नाममा अन्तरिम आदेश जारी गरिएको छ’ आदेशमा भनिएको छ ।
फारम भर्न नपाएकाले आज ललितपुरको बालकुमारीमा बिरोध प्रदर्शनसमेत गरेका थिए । त्यसक्रममा प्रदर्शनकारीहरुले मन्त्रीको गाडीमा आगजनी गरेका थिए भने प्रहरीसँगको झडपमा दुई प्रदर्शनकारीको समेत मृत्यु भएको प्रहरीले जनाएको छ ।
यसअघि सिप बिल्डिङमा अनुत्तीर्ण भएकाले उत्पादनमूलक क्षेत्रमा फारम भर्न नपाउने ईपीएस कार्यालयको निर्णयविरुद्ध रिट दायर भएपछि अदालतले आवेदन दिन आदेश गरेको थियो । तर रिट दायर गर्ने १८ जनाले मात्र ईपीएस कोरिया भाषाका लागि आवेदन दिन पाउने गरि आदेश गरेको थियो ।
उत्पादनमूलक क्षेत्रमा १८ जनाले भने आज फारम भरिसकेका छन् । सिप बिल्डिङमा करिब ३० हजार परीक्षार्थी अनुत्तीर्ण छन् ।
प्रतिक्रिया
कुनै पनि प्रतिक्रिया पाईएन !