२०८३ जेठ १० गते
काठमाडौं । आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट आउन अब एक साता पनि बाँकी छैन । जेठ १५ मा देशले नयाँ बजेट पाउनेछ । तर यसपटक बजेट कति ठूलो आउँछ भन्दा पनि कसले कसरी लेख्दैछ भन्नेमा चासो देखिन्छ ।
यसको कारण रास्वपा सरकारको यो पहिलो पूर्ण बजेट हो । अर्थतन्त्र बुझ्ने, तथ्याङ्कसँग खेल्ने र राजस्वका अंकहरूमा गहिरो पकड राख्ने व्यक्ति अहिलेका अर्थमन्त्री छन् । यसकारण पनि यसपटक बजेट कमिटिले लेख्दैछ कि अर्थमन्त्री आफैंले ? भन्ने चासो देखिएको हो । विशेष गरी ‘जान्नेलाई छान्ने’ नीतिको नारासँगै सरकारमा आएको दलले अर्थमन्त्रालयको जिम्मा डा. स्वर्णिम वाग्लेलाई दिएको थियो । अहिले तिनै स्वर्णिम बजेट निर्माणको ‘कमाण्ड सेन्टर’ मै बसेर काम गरिरहेका छन् ।
अर्थमन्त्रालयका एक अधिकारीका अनुसार यसपटकको दृश्य विगतभन्दा धेरै फरक छ । 'पहिले अर्थमन्त्रीहरू बजेट लेखन समितिले तयार गरेको ड्राफ्टमा धेरै हदसम्म निर्भर हुन्थे । तर अहिले उहाँ लेखन समितिलाई नै गाइड गरिरहनुभएको छ', ती अधिकारी भन्छन्। उनका अनुसार स्वर्णिमको रुचि बजेटको भाषाभन्दा बढी त्यसको ‘मर्म’मा छ । 'देशको अर्थतन्त्र, विशेष गरी राजस्व प्रणालीबारे उहाँ निकै जानकार हुनुहुन्छ । समितिले तयार गरेको मस्यौदामा आफैं बसेर टिप्पणी गर्नुहुन्छ, आउटपुट दिनुहुन्छ,' उनले भने ।
'यसपटक बजेटमा ‘निर्मम कैंची’ चल्न सक्छ। धेरै ठाउँको बजेट काटिनेवाला छ,' ती अधिकारीको दाबी छ। त्यो संकेत अर्थमन्त्री स्वयंले सार्वजनिक मञ्चबाट पनि दिइरहेका छन् । उनले विभिन्न मन्त्रालयलाई आफ्नो कार्यक्रमको औचित्य प्रमाणित गरेर मात्रै बजेट माग्न भनेका छन् । अर्थात नामका लागि योजना भन्दा आवश्यक कार्यक्रमलाई प्राथमिकतामा राख्न भनेका छन्। यद्यपि बजेटको आकार सीमित भए पनि आवश्यक कार्यक्रमका लागि स्रोत जुटाउने प्रतिबद्धता भने उनले दोहोर्याउँदै आएका छन् ।
यति मात्र होइन, अर्थमन्त्रीको दैनिक तालिका पनि टाइट छ । 'उहाँ बिहानै मन्त्रालय आउनुहुन्छ । बेलुका ९ बजेसम्म बस्नुहुन्छ,' ती अधिकारीले सुनाए । मन्त्रालयभित्रकालाई ‘तपाईंहरूले ५/५ वटा नयाँ आइडिया दिनुस्’ भन्नुहुन्छ । अनि ती सुझावलाई निकै सूक्ष्म ढंगले केलाउनुहुन्छ ।
अर्को तर्फ खर्चमा कडाइ गर्न खोजिरहेका अर्थमन्त्री कर्मचारीको सुविधामा भने केही नरम देखिएका छन् । स्रोतको चाप हुँदाहुँदै पनि सरकारी कर्मचारीको पारिश्रमिक बढाउने तयारी भइरहेको चर्चा मन्त्रालयभित्र छ । अहिलेको तलबले कर्मचारीको दैनिक जीवनयापन सहज नभएको बुझाइ अर्थमन्त्री स्वयमको पनि छ।
राजस्व व्यवस्थापन महाशाखा प्रमुख उत्तर कुमार खत्रीको संयोजकत्वमा बनेको बजेट लेखन समितिमा सहसचिवहरु धनीराम शर्मा, महेश भट्टराई, शेवन्तक पोखरेल, सुमन दाहाल छन् । बजेट लेखनको कमाण्डर उत्तर कुमारखत्री भएपनि पुरै टिमको कप्तानमा स्वर्णिम देखिएका छन् । उनलाई लेखन समितिले लेखेको मस्यौदामा सुक्ष्म निगरानी गरिरहेका छन् ।
प्रतिक्रिया