सुनसरी घटनाको प्रभाव कोशी–मधेशसम्म, कफ्र्युकाबीच प्रदर्शन

२०८३ साउन १२ गते

सुनसरी घटनाको प्रभाव कोशी–मधेशसम्म, कफ्र्युकाबीच प्रदर्शन

विराटनगर । सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा प्रहरीको गोली लागेर आइतबार राती नै २५ वर्षीय ओमप्रकाश मेहताको मृत्यु भएपछि मंगलबार पनि दिनभर कोशी प्रदेशका विभिन्न स्थानमा विरोध प्रदर्शन, सडक अवरोध र तनावपूर्ण अवस्था देखिएको छ । घटनाको प्रभाव सुनसरी, मोरङ हुँदै मधेश प्रदेशसम्म फैलिएको छ ।

 

Advertisement:

Ad
Ad

प्रदर्शनका कारण सुनसरीको पकलीदेखि कोशी ब्यारेजसम्म पूर्व–पश्चिम राजमार्गका विभिन्न स्थानमा टायर बालेर सडक अवरुद्ध गरिएको थियो । राजमार्ग बन्द हुँदा लामो दूरीका सवारीसाधन रोकिए भने यात्रुहरू समस्यामा परेका छन् । इटहरी–पश्चिमतर्फ सवारी सञ्चालनसमेत प्रभावित भएको थियो ।

 

यसका विच जिल्ला प्रशासन कार्यालय सुनसरीले मंगलबार दिउँसो ३ः३० बजेदेखि अर्को सूचना जारी नभएसम्मका लागि महेन्द्र राजमार्गअन्तर्गत पकली चोकदेखि कोशी ब्यारेजको पुलसम्म तथा राजमार्गको दुवैतर्फ नै २०० मिटर क्षेत्रभित्र अनिश्चितकालीन कफ्र्यु आदेश जारी गरेको छ । 

 

कफ्र्यु अवधिमा आवतजावत, भेला, जुलुस, प्रदर्शन, सभा तथा बैठक गर्न रोक लगाइएको प्रमुख जिल्ला अधिकारी इश्वरीप्रसाद अर्यालले जारी गरेको सूचनामा उल्लेख छ ।

 

विराटनगरमा पनि आन्दोलनकारीहरूले हनुमान मन्दिरबाट प्रदर्शन सुरु गर्दै ट्राफिक चोक, महेन्द्र चोकलगायत बजार क्षेत्र परिक्रमा गरेका थिए । प्रदर्शनका क्रममा व्यापारीहरूलाई पसल बन्द गर्न आग्रह गरिएपछि अधिकांश पसल बन्द भए र बजारको जनजीवन प्रभावित बन्यो । 

 

आन्दोलनकारीहरूले बुधहाट चोकमा श्रद्धाञ्जली सभासमेत आयोजना गरेका थिए । सम्भावित अप्रिय घटना रोक्न नेपाल प्रहरी र सशस्त्र प्रहरीका अतिरिक्त सुरक्षाकर्मी परिचालन गरिएको थियो ।

 

यता, सुनसरीको कोशी गाउँपालिका–४ स्थित कोशी कटान क्षेत्रमा पनि तनाव उत्पन्न भएको छ । प्रारम्भिक विवरणअनुसार सरजुग यादव, अनिल महत्मान, उपेन्द्र मण्डल, सकलदेव यादव, राजकुमार यादव, सदानन्द यादव र रणकुमार श्रेष्ठलगायतका व्यवसायीका पसलमा क्षति पुगेको छ। क्षतिको यकिन विवरण संकलन भइरहेको प्रहरीले जनाएको छ ।

 

आन्दोलन फैलिन थालेपछि सुनसरीका विभिन्न संवेदनशील क्षेत्रमा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेनासमेत परिचालन गरिएको छ । 

आइतबार राति बोलबम यात्राका क्रममा सुरु भएको विवाद हिंसात्मक झडपमा परिणत भएपछि सशस्त्र प्रहरीले हवाई फायर गरेका थिए । उक्त घटनामा देवानगञ्ज–४ का २५ वर्षीय ओमप्रकाश मेहताको मृत्यु भएको थियो भने सर्वसाधारण र सुरक्षाकर्मीसहित दुई दर्जनभन्दा बढी व्यक्ति घाइते भएका छन् । घटनाको छानबिनका लागि गृह मन्त्रालयले पाँच सदस्यीय समिति गठन गरिसकेको छ।