२०८१ चैत १९ गते
काठमाडौ । केही समययता बैंकहरु निस्क्रिय कर्जाको दबाबमा परेका छन् । पैसा लानेहरुले तिर्न नखोज्दा बैंकहरुको कर्जामा जोखिम देखिएको हो । अर्को तर्फ अधिक सस्तो ब्याजदर हुँदा समेत अपेक्षित ऋण प्रवाह हुन सकेको छैन । ब्याजदर कम हुँदा बैंकको ब्याज आम्दानी घटेको छ जसले गर्दा बैंकको नाफा खुम्चिएको छ । त्यसमा पनि सरकारी बैंकको नाफा झनै खुम्चिएको छ ।बैंक कहिलेसम्म एनपिएलको स्ट्रेसमा रहन्छ, नाफामा सुधार किन भएन, रिकभरीमा थ्रेट कतिको छ लगायतका विषयमा केन्द्रित रहेर बाणिज्यपोष्टकी एलिजा उप्रेतीले राष्ट्रिय बाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत देवेन्द्ररमण खनालसँग गरेको कुराकानीको सम्पादित अंश :
पछिल्लो समय बैंकहरुलाई खराब कर्जाले (एनपिएल) तनाव (स्ट्रेस) दिएको छ । केही बैंकहरु त ५ प्रतिशतको थ्रेसहोल्ड भन्दा माथि पुगिसकेको अवस्था पनि देखिएको छ ? खराब कर्जा नियन्त्रण बाहिर जान लागेको हो ?
सरसर्ती हेर्दा निस्क्रिय कर्जाको थ्रेसहोल्ड ५ प्रतिशत भनेको जस्तो देखिन्छ । वास्तवमा ५ प्रतिशत थ्रेसहोल्ड राखिएको छैन । यद्यपि तपाईले भनेजस्तै एनपिएल बढ्दै गएको भने सत्य हो । एनपिएलको तह अझै पनि बढ्ने देखिन्छ किनभने कोभिडकालमा नेपाल राष्ट्र बैंकले नीतिगत रिल्याक्सेसन (सुविधा) दिएको थियो त्यो सुविधा अहिले हटिसकेको छ । हामी कोभिडपछि रिभाइभल (पुर्नउत्थान) अझै हुन सकेका छैनौ । त्यसकारण पनि जति पैसा बजारमा गएको थियो त्यो पैसा फिर्ता हुन सकेको छैन । घरजग्गा कारोबार चलायमान भएको छैन । घरजग्गाको मूल्य नबढे पनि मान्छेहरुको किन्न सक्ने क्षमता छैन । अर्कोतर्फ पूँजीबजार पनि सोचे अनुसार बढ्न सकेको छैन । बंैकमा तिर्नलाई नगद हुनुपर्यो अचल सम्पत्ति मात्र भएर भएन । कमाई नभएर नै ऋण लैजालेहरुले तिर्न सकिरहेका छैनन् । यसैले निस्क्रिय कर्जाको तह अझै बढीरहेको छ ।
उसो भए एनपिएलले बैंकहरुलाई अझ बढी तनाव दिने देखियो होइन् ?
अर्थतन्त्र भनेको आजको भोली चमत्कार भएर जादु जसरी सुध्रेर जाने होइन । यसमा आत्म विश्वासले पनि काम गर्छ । त्यो आत्म विश्वास आम मानिसमा देखिएको छैन । आत्म विश्वास बढेपछि अर्थतन्त्र चलायमान हुनुपर्छ र त्यहाँ अवसर पनि आउनुपर्छ । हाम्रो मात्र कारणले अर्थतन्त्र चलायमान हुँदैन बाह्य तत्व पनि हाबी हुन्छ । अहिले पर्यटन क्षेत्र स्ट्रेसफुल छ । पर्यटन क्षेत्र नेपालकोले मात्र चल्दैन बाहिरबाट पर्यटक आउनु पर्यो ।अहिले यूरोपमा वारको अवस्था छ । मध्यपुर्वीमा पनि त्यस्तै छ । अरु क्षेत्रमा पनि मान्छेको कमाई नहुँदा खर्च गर्न सक्ने अवस्था छैन ।
ऋण उठाउँन जाने कर्मचारीमा डर त्रास र धम्की निकै आउँने गरेको गुनासो कर्मचारीहरुले नै गर्दै आउँथे । अहिले अवस्था कस्तो छ ?
अहिले त्यतिधेरै धम्की आउँदैन । बैंकमा तपाइ हाम्रै पैसा लानेहरुले तिर्दिन भन्न मिल्दैन । आम जनताले जम्मा गरेको पैसा (९० प्रतिशत) र केही सेयर होल्डर (१० प्रतिशत) को पैसा बैंकमा हुन्छ ।रिकभरीमा समस्या अझै पनि छ । व्यक्तिगत हिसाबमा धम्की होला । रिकभरीमा आएको समस्या सम्पत्ति लिलाम गर्न खोज्दा बिक्रि नभएर हो । धितो बिक्रि गर्न खोज्दा सम्बन्धि सम्पत्ति धनीले सोधीखोजी गर्छन् । किन गरे कसो गरे भनेर खोज्नु स्वभाविक हो । रिकभरीमा समस्या भएकै कारण एनपिएल बढेको हो । अर्थव्यवस्था चलायमान हुन थालेपछि ऋण पनि उठ्न थाल्छ । अहिले सम्पत्ति व्यवस्थापन कम्पनी ल्याउने प्रक्रिया अघि बढेको छ । कानुन ड्राफ्ट भएको छ भन्ने सुनेको छु । ब्याड बैकिङ र गुड बैकिंङ हेर्न मिल्ने भएपछि यि सबै समस्या समाधान होला ।
कुनै समय बैंकको ब्याज बढी भएर व्यवसाय चल्न नसक्ने अवस्थामा थिए तर आज अत्यधिक सस्तो हुँदा पनि कर्जा विस्तार हुन सकेको छैन । यसको अर्थ लगानीको गतिलो रणनीति नभएको हो वा त्यही आर्थिक मन्दीलाई दोष दिनुहुन्छ ?
बैकिङ भनेको छुट्टै होइन । यो विश्वास बाटैं चल्ने संस्था हो । कुनै समयमा हाम्रा नीतिले बढी कर्जा प्रवाह गर्न सक्ने अवस्था थियो भने अहिले त्यस्तो नीति छैन । किनभने वर्किङ क्यापिटल गाइडलाइन (चालुपुँजी कर्जा निर्देशिका) आएपछि बजारलाई अनुशासित बनाएर लैजाने काम भएको छ ।अर्को तर्फ कर्जा इभरग्रिनको कारणले आएको बबल विस्तारै सिस्टमले मिलाउँदै जाने अवस्था छ । व्यवसायीले चाँलु पुँजी कर्जा हटाउँनुपर्छ भनेका छन् तर त्यो आवश्यक छ बरु अझ अगाडी आउनुपथ्र्यो । बजारमा कहिले बढी तरलता कहिले कम हुनु स्वभानविक हो तर अहिले अलि लामो समय भएकाले केही समस्या देखिएको छ । अझै पनि घरजग्गा कारोबार जस्ता उत्पादनसँग सम्बन्धित कारोबार र ठुला पूर्वाधारमा लगानी बढाउँन सकिएको देखिदैन । अर्कोतर्फ रेमिट्यान्सको फ्लोमा विस्तारै कम हँुदा तरलताको अवस्थामा पे्रसर (दबाब) पर्ने हो की भन्ने छ । पहिला एक दुई बैंकले इन्टरबैंक लेण्डिङ (अन्तर बैंक कर्जा प्रवाह) गर्थे भने अहिले ९÷१० बैंकले खोजिरहेका छन् भनेपछि विस्तारै त्यसमा स्ट्रेस पर्दै गएको हो की जस्तो देखिन्छ । महंगी भन्दा निक्षेपको ब्याजदर कम भयो भने त्यहाँ लस हुन्छ । यति सस्तो ब्याजदर भयो भनेपनि मानिसमा उत्साह हुँदैन । महंगो भयो भनेपनि जोखिम लिन चाहदैनन । जसले निक्षेपबाट कमाउँछु भन्छ त्यहाँ उत्पादन हुदैन रोजगारीको समस्या समाधान हुदैन । त्यो अल्छी हुन्छ ।
राष्ट्रिय बाणिज्य बैंकलाई नै हेर्ने हो भने सिडि रेसियो ६३ प्रतिशत देखिएको छ । यो भनेको बैंकसँग धेरै पैसा थुप्रिैको छ भन्ने देखिन्छ । बैंकबाट ऋण जान छोडेको हो ?
तपाई भनेजस्तै हाम्रो बैंकमा अहिले अरु बैंकभन्दा बडी तरलता देखिन्छ । हामीले डाटा हेरेका थियौ आरबीबीको यो एक वर्षमा मात्र निक्षेप १ खर्ब ५० अर्बले बढेछ । यो धेरै ठुलो निक्षेप हो । यो पैसा कहाँबाट आयो त ? पब्लिकको विस्बास जितेर आएको पैसा हो । कुनै बेला ब्याजदर सम्बन्धि गाइडलाइनको बिडिङ गर्न पाउने नीतिले सबैको निक्षेप छरिएको थियो तर अहिले आरबिबमा विश्वास बढी देखिन्छ । समस्याग्रस्त वित्तिय संस्था सहकारी र केही बाणिज्य बैंकको अफवाहका कारण अरबीबीमा निक्षेप आयो । यसकारण बढी पैसा देखियो । कर्जा नगएको भन्नुहुन्छ भने अहिलेसम्म कुनै कर्जा स्वाप भएको छैन । बजार भन्दा हाम्रो क्रेडिटको ग्रोथ माथि नै छ । १७ प्रतिशत भन्दा माथिको ग्रोथ छ ।
सहुलियत पूर्ण कर्जा सरकारी बैंकबाटै दिने व्यवस्थाले तपाइहरुको ऋणको ग्रोथ बढी देखिएको हो ?
अहिले प्रभावकारी रुपमा सहुलियत कर्जा कार्यान्वयनमा छैन । हाम्रोमा सस्तो ब्याजदर भएकाले ग्राहकको आकर्षण बढेको छ । नयाँ घरकर्जा सस्तो कर्जाको प्रोडक्ट ल्यायौ । किसान कर्जा जस्तो प्रोडक्ले माइलेज लिएको छ । ठुला कर्जा एक प्रतिशत भन्दा तलमाथि हुँदा पनि ठुलो लाभ लिन पाउने भए । अरु बैंकको बेसरेट भन्दा सस्तो ब्याजदर पर्ने भएकाले ऋण फ्लो भएको हो ।
केन्द्रिय बैंकको तथ्यांक हेर्ने हो भने माघ मसान्तसम्म झण्डै ५० प्रतिशतले राष्ट्रिय वाणिज्य बैंकको नाफामा गिरावट आएको छ । किन यति धेरै भयो ?
हामी ४ प्रतिशत भन्दा बढीको स्प्रेडमा (कर्जा र निक्षेपको ब्याजदर अन्तर) जान सक्तैनौ त्यसैमा बसेर आम्दानी गर्नुपर्यो । अहिले बचत र मुद्दतीमा पनि ३ प्रतिशत नै छ । बजारमा विश्वास नभइ कोही पनि नयाँ प्रोजेक्ट ल्याउन चाहैदन । जलविद्युत जस्ता आयोजनामा ऋण प्रवाहका लागि समय लाग्छ । आजको भोली ऋण जाने भनेको सेयर बजारमा हो । तर त्यसमा पनि थ्रेसहोल्ड छ । कर्जा त्यतिकै लिउ भनेर पनि कोही लिदैन । किनभने यसको ब्याज तिर्नुपर्छ, साँवा दिनुपर्छ । अर्कोतर्फ हाम्रो कर्मचारीको सेवा सुविधामा बृद्धि भएको छ । दायित्वहरु बढेको छ । साथसाथै कर्मचारीहरु पनि थपिएका छन् । पहिला करिब २ हजार २ सय कर्मचारी थिए अहिले थपिएर २ हजार ७ सय कर्मचारी पुगेका छन् । त्यसमा खर्च बढेको छ । यसले पनि नाफा खुम्चिएको छ । गत साल जस्तो कसैको पनि आम्दानी भएको छैन । आम्दानी ११ प्रतिशतबाट घटेर सात प्रतिशतमा झरेको छ ।
समग्रमा बैंकिङ क्षेत्रको तेस्रो त्रैमास कस्तो रहला, केही सुधारको आश गर्नुभएको छ ?
मलाई लाग्दैन बैकिङ क्षेत्र आजको आजै सुध्रन्छ । के त्यस्तो नयाँ कुरा भएको छ सुधार हुनलाई । रिकभरी भइरहेको छैन । धितो लिलामि बिक्रि हुन सकेको छैन । धितो लिलामि किन्नेले पनि यो किनेर के गर्ने भन्ने छ । करौडो क्यास लिएर बैंक खातामा राख्दैनन । पब्लिकमा आत्मविश्वास ल्याउन जरुरी छ । जबसम्म आत्मनिर्भर अर्थतन्त्र बनाउँने र कार्यान्वयन हुदैन तबसम्म यस्तै हुन्छ । जस्तै जलविद्युतको क्षेत्रमा देशले १५ वर्षमा एक लेभलको काँचुली फेरेको छ । निर्माणाधिन आयोजनालाई हेर्यो भने ५ हजार मेगावाट सम्म पुग्छ । पर्यटनमा पनि गर्न सकिने ठाउँ छ । प्राथमिकताको क्षेत्र तय गरेर उत्पादन बृद्धिमा जोड दिए मात्र आत्मनिर्भर बन्न सकिन्छ । जब आत्मनिर्भर अर्थतन्त्र बन्छ त्यसपछि देशको बैंक मात्र नभएर सबै क्षेत्र उभो लाग्छ ।
नयाँ गभर्नर नियुक्तिको संघारमा छ तपाइहरुले खोजेको गभर्नर कस्तो हो ?
नियामक भनेको नियन्त्रण गर्न सक्ने क्षमता हुनुपर्छ । त्यस्तै व्यक्तिको अपेक्षा हामीले गरेका छौ ।
प्रतिक्रिया