२०८३ साउन १२ गते
काठमाडौं । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले गत आर्थिक वर्षमा विभिन्न समस्याग्रस्त सहकारीका करिब ११ हजार बचतकर्ताले आफ्नो बचत फिर्ता तथा मिलान पाएको बताएको छ ।
करिब ११ हजार बचतकर्ता ७१ करोड रुपैयाँ फिर्ता तथा मिलान गरेको समितिले सार्वजनिक गरेको तथ्याङ्कले देखाएको छ । करिब ११ हजार चतकर्ताहरूलाई २१ करोड रुपैयाँ नगद फिर्ता र ५० करोड रुपैयाँ ऋण÷बचत मिलान गरी कुल ७१ करोड बराबरको बचत फिर्ता तथा मिलान गरिएको छ।
समितिले ५ लाख वा सोभन्दा कम बचत रहेका र १० हजार रुपैयाँ सम्म रकम बाँकी रहेका साना बचतकर्ताहरूको रकम (शिवशिखर बहुउद्देश्यीय सहकारीका करिब १,५०० बचतकर्ता बाहेक) प्रायः सबै रुजु गरी फिर्ता गरिसकिएको जनाएको छ।
यस्तै ज्येष्ठ नागरिक, एकल महिला तथा तोकिएका प्राणघातक रोगबाट पीडित बचतकर्ताहरूलाई औषधोपचार राहतस्वरूप जनही २५ हजार रुपैयाँसम्म फिर्ता गर्न थालिएको छ। यो कार्यक्रमको पहिलो दिनमै ४८ जना पीडित बचतकर्तालाई कुल १२ लाख रुपैयाँ फिर्ता गरिएको छ।
कुल ५९६ जना बचतकर्तामध्ये १ लाखसम्म बचत हुनेको साउन मसान्तभित्र र ५ लाखसम्म बचत हुनेको कात्तिक मसान्तभित्र रकम फिर्ता गरिने प्रतिवेदनमा पनि भनिएको छ।
कान्तिपुरका बचतकर्तालाई जनही १७ हजार ९ सय ४५ रुपैयाँ र गोरखा सेभिङका बचतकर्तालाई जनही २५ हजार २ सय ४२ रुपैयाँ भुक्तानी साउन तेस्रो साताबाट शुरु गरिने समतिले जनाएको छ। असुल भएको ऋण रकमबाट दामासाहीका आधारमा बचत फिर्ता गर्ने कार्य आगामी भदौ महिनाको अन्तिम साताबाट सुरु गर्ने समितिको योजना छ।
समितिले ऋणीहरूलाई कडाइ गरेर ऋण असुली गरी बचतकर्ताको रकम फिर्ता गराउने कार्यलाई तीव्रता दिइने र ऋण नतिर्नेहरूको बैंक खाता, राहदानी रोक्का तथा कालोसूचीमा राख्ने जस्ता कारबाही प्रक्रिया जारी राखेको जनाएको छ।
प्रतिक्रिया