शिवरात्रीमा पशुपतिको दर्शन गर्न चार ठाउँमा लाइन,  कुन ठाउँबाट आउनेले कतापट्टि लाइन बस्ने यस्तो छ व्यवस्था

२०८२ माघ २९ गते

शिवरात्रीमा पशुपतिको दर्शन गर्न चार ठाउँमा लाइन,  कुन ठाउँबाट आउनेले कतापट्टि लाइन बस्ने यस्तो छ व्यवस्था

काठमाडौ । यहि फागु ३ गते महाशिवरात्रीको अवसरमा पशुपति दर्शन गर्ने भक्तजनहरुको सहजताका लागि ४ ठाउँबाट लाइन लगाउने व्यवस्था गरिने भएको छ ।

दर्शनार्थीहरुले बिहान २ बजेदेखि दर्शन गर्न पाउँने पशुपति विकास कोषले जनाएको छ । पुशपति विकास कोषले भक्तजनहरुलाई  बहुमूल्य गरगहना लगाएर  र साना बालबालिका लिएर नआउन अनुरोध गरेको छ । 

Advertisement:

Ad
Ad


यस्तो छ दर्शन सम्बन्धी व्यवस्थाः
वृत्तिसपुतली, मैतिदेवी, पुरानो वानेश्वर तर्फबाट आउने दर्शनार्थीहरुका लागि गौशाला पिंगलास्थान गेट हुँदै वनकाली धर्मशालालाई वाया पारेर चारशिवालय पञ्चदेवल हुँदै दक्षिणढोकाबाट प्रवेश गरी चौसट्ठी शिवलिङ्ग मार्ग हुँदै मन्दिर प्रांगण प्रवेश गर्ने र मूलभट्ट निवास पूर्व बाहिरी दक्षिणढोका हुँदै फर्कने व्यवस्था मिलाइएको छ ।

यसैगरी भक्तपुर, ललितपुर, कोटेश्वर, तिनकुने, एअरपोर्ट, तिलगंगा क्षेत्रबाट आउने दर्शनार्थीहरुका लागि तिलगंगा पर्यटक काउण्टरबाट प्रवेश गरी राम मन्दिर, आर्यघाट हुँदै मन्दिरको पूर्वी ढोकाबाट प्रवेश गराई दर्शन गराउने सोही ढोकाबाट बाहिर फर्कने व्यवस्था मिलाईनेछ ।

जोरपाटी, कपन, महाँकाल, चावहिल तर्फबाट आउने भक्तजनहरुका लागि मित्रपार्क, गौरीघाट, उमाकुण्ड, दक्षिणामूर्ति, रुद्रगाडेश्वर, वासुकी हुँदै उत्तरढोकाबाट मन्दिर प्रांगण प्रवेश गर्ने र पश्चिम मूलढोकाबाट फर्कने व्यवस्था मिलाईनेछ ।

रातोपुल, कालोपुल, चावहिल, सिफलबाट आउने दर्शनार्थीहरुको लागि जयवागेश्वरी मन्दिर अगाडिको मछिन्द्र गणेश, दथुटोल, पाचाटोल, अन्नपूर्ण भण्डार हुँदै भूवनेश्वरीको सानो ढोकाबाट प्रवेश गराई शंकराचार्य मठ पूर्वतर्फको आकासे पुल हुँदै पश्चिम सानो ढोकाबाट प्रवेश गराई याम्पबाट दर्शन गराउने र पश्चिम मूलढोकाबाट फर्कने व्यवस्था मिलाइने कोषले जनाएको छ । दर्शनार्थीहरुको छिटो भन्दा छिटो दर्शन गरी फर्कन सक्ने गरी विहान २ बजेदेखि नै पशुपतिनाथ मन्दिरका चार वटै ढोका खोल्ने व्यवस्था मिलाइएको छ ।

दर्शन गरी फर्कदा पशुपतिनाथ मन्दिर प्राङ्गणभित्र दर्शनार्थी र अन्य भक्तजनहरुको सुविधाका लागि भगवान पशुपतिनाथको चन्दन पश्चिम ढोका बाहिर सानो सदावर्त सत्तल अगाडि साथै पञ्चदेवल पूर्वदक्षिण, उमाकुण्ड, दक्षिणामूर्ति, तिलगङ्गा, वनकाली, गौशाला, जयवागेश्वरीमा समेत चन्दन वितरणको व्यवस्था मिलाइनेछ ।
यस्तै  पर्यटक प्रवेश शुल्क तिरी टिकट लिएका तेस्रो मूलुकका पर्यटकलाई मेला क्षेत्रमा (मन्दिर प्राङ्गण वाहेक) अवलोकन भ्रमण गर्न दिने व्यवस्था मिलाइनेछ ।


 नेपाल टेलिकम र एनसेललाई विटिएस भ्यान राखी मोबाईल सेवालाई मेला क्षेत्रमा सहज बनाउन अनुरोध गरी सोही अनुसार विटिएस भ्यानको व्यवस्था गरिनेछ ।


वृद्धवृद्धा (जेष्ठ नागरिक) हरु तथा असक्तहरुलाई विना लाईन दर्शन गराउन  सुरक्षा निकाय, स्वयंसेवक र स्काउटले सहयोग गर्नेछन् ।  नित्य दर्शनार्थीहरुका लागि विहान ५ बजेभित्र भुवनेश्वरी भएर पश्चिमतर्फको सानो ढोकाबाट मन्दिर प्रवेश गर्ने व्यवस्था मिलाईनेछ । मन्दिर दर्शनका लागि कुनैपनि किसिमको पासको व्यवस्था गरिएको छैन ।


सवारी पास, क्रियापुत्री घाट पास, प्रेस पास, जुत्ता चप्पल पास, कोरक्षेत्र बाहिरको स्वयंसेवा पास वाहेक मन्दिरभित्रको कुनैपनि पासको व्यवस्था नगर्ने तर मन्दिरभित्र सेवा दिने गुठी संस्थान, अमालकोट कचहरीका कर्मचारी, रकमीर पुजारी, बद्री कैलासनाथ सदावर्त गुठीहरुलाई मन्दिर प्रवेश परिचयपत्रको व्यवस्था मिलाईएको छ ।

सुरक्षा सम्बन्धी व्यवस्था:
आफ्नो सामानको सुरक्षाप्रति विशेष सजग रहन, बहुमूल्य गरगहना लगाई दर्शनमा नआउन तथा बालवालीकाहरुलाई साथमा नल्याउन ल्याएपनि सावधानी अपनाउन तथा पाकेटमारदेखि सावधानी रहन भनिएको छ ।  


भकुण्डोलमा खोजखबर कक्षका लागि आवश्यक व्यवस्था मिलाउन सामुदायिक प्रहरी चावहिल र श्रीशक्ति महिला समूहद्वारा खोजखबर कक्ष संचालन गर्ने । हराएका वा आफन्तबाट छुटेका व्यक्तिहरुको बारेमा सूचना सम्प्रेषण गर्ने साथै महाशिवरात्रि पर्वको धार्मिक, आध्यात्मिक महत्वका बारेमा भक्तजनहरुलाई आवश्यक सूचना प्रवाह गर्ने व्यवस्था गरिएको छ ।