२०८३ वैशाख १६ गते
काठमाडौँ । साताको चौथो कारोबार दिन बुधबार पनि शेयर बजार ओरालो यात्रामै रह्यो। पछिल्ला दिनहरूदेखि निरन्तर दबाबमा रहेको नेप्सेले यस दिन पनि सोही प्रवृत्तिलाई पछ्याएको हो। यस दिन नेप्से परिसूचक २५.८१ अंकले घट्दै २७४४.४५ विन्दुमा झरेको छ।
बजारसँगै कारोबार रकम पनि खुम्चिएको छ। बुधबार २६९ कम्पनीका एक करोड २१ लाख ४ हजार १७८ कित्ता शेयर चार अर्ब ९५ करोड ४६ लाख रुपैयाँमा किनबेच भएका छन्। अघिल्लो दिन मंगलबार भने ६ अर्ब ५३ करोड १७ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो। आजको कारोबारमा कर्पोरेट डेभलपमेन्ट बैंकका लगानीकर्ताले सबैभन्दा बढी कमाएका छन्। यस बैंकको शेयर मूल्य १३.८१ प्रतिशतले बढेको हो।
कारोबार रकमका आधारमा रिलायन्स स्पिनिङ मिल्स अग्रस्थानमा रहेको छ, जसको २४ करोड १९ लाख रुपैयाँ बराबरको शेयर कारोबार भयो। त्यस्तै, पाल्पा सिमेन्ट्सको २० करोड २२ लाख रुपैयाँ बराबरको कारोबार भएको छ। उपसमूहगत प्रदर्शन हेर्दा १३ मध्ये ३ उपसमूह हरियो रहँदा १० उपसमूह राताम्मे भएका छन्। व्यापार उपसमूह १.०९ प्रतिशतले बढ्दै शीर्ष स्थानमा रह्यो भने विकास बैंक र म्युचुअल फण्ड उपसमूह सामान्य वृद्धि सहित बन्द भए। उता उत्पादन तथा प्रशोधन उपसमूहमा सबैभन्दा ठूलो गिरावट देखियो। साथै, निर्जीवन बीमा, होटल तथा जलविद्युत उपसमूह पनि १ प्रतिशतभन्दा बढीले घटेका छन्।
प्रतिक्रिया