२०८३ साउन ०७ गते
काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) ले नाफा घटेको प्रतिवेदन सार्वजनिक गरेको । बैंकले सार्वजनिक गरेको अपरिष्कृत वित्तिय विवरण अनुसार गत आर्थिक वर्ष २०८२/८३ ९८ करोड ७३ लाख ९५ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।
जबकी निफ्राले अघिल्लो आर्थिक वर्षको २०८१/८२ को १ अर्ब २३ करोड ४० लाख रुपैयाँ नाफा गरेको थियो । यसलाई आधारमान्दा बैंकको नाफा १९.९८ प्रतिशतले घटेको हो ।
बैंकको प्रतिसेयर आम्दानी पनि ५.७१ रुपैयाँबाट घटेर ४.५७ रुपैयाँमा झरेको छ । प्रतिसेयर नेटवर्थ ११७.२२ रुपैयाँ कायम भएको छ। त्यसैगरी बैंकको रिटर्न अन इक्विटी ३.८७ प्रतिशत र रिटर्न अन एसेट्स २.३७ प्रतिशत रहेको छ।
खुद ब्याज आम्दानीमा आएको कमी र ब्याज खर्चमा भएको उल्लेख्य वृद्धिले बैंकको नाफामा संकुचन आएको हो । बैंकको वित्तीय विवरण अनुसार ब्याज आम्दानीमा सामान्य गिरावट आए पनि ब्याज खर्च भने ५६ करोड ९१ लाखबाट बढेर ९७ करोड ७३ लाख रुपैयाँ पुगेको छ । खुद ब्याज आम्दानी १ अर्ब ९० करोडबाट घटेर १ अर्ब ४४ करोड रुपैयाँमा घटेको छ ।
अघिल्लो वर्ष २४ अर्ब ९४ करोड रहेको ऋण तथा लगानी यस वर्ष बढेर ३१ अर्ब ४२ करोड रुपैयाँ पुगेको छ। निक्षेप संकलनमा पनि सामान्य सुधार भई ७ अर्ब ८३ करोड रुपैयाँ कायम भएको छ ।
बैंकले शुल्क तथा कमिसन आम्दानीमा भने उल्लेख्य सुधार गर्दै ५ करोड ८० लाख रुपैयाँ पुर्याएको छ । बैंकको पुँजी पर्याप्तता अनुपात ६७.१५ प्रतिशत रहेको छ ।
प्रतिक्रिया