२०८२ असार २७ गते
काठमाडौ । नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्षका २०८२/०८३ का लागि मौद्रिक नीति ल्याएको छ । सेयर बजारका लगानीकर्ता र घरजग्गा व्यवसायीले निकै प्रतिक्षा गरेको मौद्रिक नीति अन्ततः शुक्रबार (असार २७) सार्वजनिक भएको हो ।
विशेषगरी पछिल्लो केही वर्षयता सेयर बजार र घरजग्गामा सुस्तता आउदा समग्र अर्थतन्त्र नै प्रभावित बनेको टिप्पणी भइरहेका बेला गभर्नर डा. विश्वनाथ पौडेलले यी दुई क्षेत्रलाई बम्पर उपहार दिएका छन् । पौडेलले सेयर बजार र घरजग्गाव्यवसायीहरुलाई राहत पुग्ने नीति लिएको व्यवसायी तथा लगानी कर्ता बताउँछन् ।
घरजग्गालाई यसरी हुन सक्छ फाइदा
केन्द्रिय बैंकले निजी आवासीय घर निर्माण र खरिद गर्न दिने ऋणको सिमा बढाएको छ । मौद्रिक नीतिको ७४ नं. बुँदामा घरजग्गाको विषय समेटिएको छ । आवासिय घर कर्जाको सीमा २ करोडबाट बढाएर ३ करोड रुपैयाँसम्म कायम गरिएको छ । पहिलो घर निर्माण र खरिद गर्दा यस्तो कर्जा प्रवाहको लागि कर्जा मूल्य अनुपात बढीमा ८० प्रतिशतसम्म र अन्यको हकमा बढीमा ७० प्रतिशतसम्म कायम गर्न सक्ने व्यवस्था केन्द्रिय बैंकले गरेको छ । मानौ कुनै व्यक्तिले ३ करोड रुपैयाँको घर किन्छ र उसरलाई बैंकबाट ऋण चाहिएको छ भने उसले २ करोड ४० लाख रुपैयाँसम्म ऋण पाउँछ ।
यसअघि पहिलो घर निर्माण र खरिद गर्दा कर्जा मूल्य अनुपात ६० प्रतिशत थियो भने घरजग्गाको मूल्यांकनमा ५० प्रतिशत मात्रै बैंकले ऋण दिने गरेको थियो । घरजग्गा व्यवसायी महासंघका निवर्तमान अध्यक्ष भेषराज लोहनी मौद्रिक नीतिले घरजग्गा व्यवसायीहरुलाई उत्साह दिएको बताउँछन् । उनी भन्छन्, ‘मौद्रिक नीति घरजग्गा क्षेत्रको लागि राम्रो छ । घरजग्गा क्षेत्र चलायमानमा सहयोग पुर्याउँनेछ । जसले गर्दा समग्र अर्थतन्त्र नै चलायमान हुनेछ । ’
सेयर बजारका लगानीकर्ता पनि उत्साहित
पुँजी बजारलाई अर्थतन्त्रको ऐना मानिन्छ । यही ऐना धमिलिएको लामो समय भयो तर रौकता फर्किन सकेको थिएन । विशेष गरी केन्द्रिय बैंकले सेयर मार्जिन कर्जामा लगाइदिएको १५ करोडको सिमाकै कारण बजार बढ्न नसकेको विश्लेषण लगानीकर्ताहरुले गर्दै आएका थिए । यसैकारण उनीहरुले गभर्नर पौडेलसँग उक्त सिमा खारेज गर्न माग गरेका थिए । यद्यपि केन्द्रिय बैंकले उक्त सिमा खारेज गरेन तर लगानीकर्तालाई राहत हुनेगरी सिमा बढाएको छ ।
बुँदा नं. ८२ मा बैंक तथा वित्तीय संस्थाहरूबाट शेयर धितोमा प्रवाह हुने मार्जिन प्रकृतिको कर्जाको विद्यमान एकल ग्राहक कर्जा सीमा१५ करोडबाट बढाई २५ करोड बनाइने उल्लेख छ । लगानीकर्ता कमल खरेल राष्ट्र बैंकको यस नीतिले समग्र सेयर बजारमा सकारात्मक माहोल सृजना गर्ने बताउँछन् । उनी भन्छन, ‘यस अघिका गभर्नरले १५ को १६ नबनाइकन विदा भए । अहिलेका गभर्नरले एकैपटक २५ करोड बनाइदिए यो निकै ठुलो कुरा हो । यसले बजारमा उत्साह छर्छ ।’
प्रतिक्रिया