२०८० माघ २१ गते
काठमाडौँ । जाडो मौसममा विभिन्न प्रकारका संक्रमण बढ्ने गर्दछ। यो मौसममा सामान्यदेखि गम्भीर रोग लाग्ने खतरा पनि उत्तिकै हुन्छ । प्रायः जसो भाइरल संक्रमण बढी हुने गर्छ। जाडो मौसममा वायु मण्डलमा सुख्खा हावा चल्ने र यस्तो हावा भाइरसको लागि उपयुक्त हुने मानिन्छ । सोही कारण यस्तो हावामा भाइरस लामो समय बस्न सक्दछ ।
त्यस्ता भाइरस शीतका थोपाहरुमा लामो समयसम्म बाँच्न सक्छ्न्। हिँडडुल र बस्ने क्रममा न्यानो कपडा नलगाई बस्दा यसरी हावाका कँणमा बसेका भाइरसको संक्रमण सर्ने जोखिम बढ्दछ। त्यसो त जाडो याममा हाम्रो शरीरको रोगसँग लड्ने रोग प्रतिरोधात्मक क्षमता पनि कम हुन्छ। हामीले सामान्य केही नियमहरु पालना मात्र गर्ने हो भने पनि त्यस्ता संक्रमण बाट बच्न सकिन्छ। जाडोमा रुघा खोकी लाग्ने, श्वासप्रश्वासमा समस्या आउने, घुडा दुख्ने, हड्डी दुख्ने, टाउको दुख्ने जस्ता समस्याहरु आम रुपमा देखिन्छन् तर दिर्घ रोग लागेकाहरुलाई जटिल समस्या देखिन सक्छ । जस्तो बाथका बिरामी, दमका बिरामी,प्रेसर ,मुटुको बिरामीलाई थोरै मात्र हेलचेक्याइँले पनि स्वास्थ्यमा जटिलता ल्याउन सक्छ ।
जाडो मौसममा स्वास्थ्य बिग्रिन नदिन निम्न कुराहरुलाई ध्यान दिनुपर्ने हुन्छ -
१. सन्तुलित भोजन- सन्तुलित भोजन भएमा हामिले आफ्नो शरीरको रोग सँग लड्ने क्षमता विकास गर्न सक्छौ । सिजनल तरकारी तथा फलफूल को सेवन, प्रशस्त पानी पिउने, झोल ,सुपहरु खाने ।
२. नियमित ब्यायाम गर्ने- चिसोमा हाम्रो रक्तनलिहरु अलि साघुरो हुने गर्छ। जसले गर्दा प्रेसर बढ्ने, टाउको दुख्ने हुने गर्छ। यदि हामीले नियमित ब्यायाम गर्ने हो भने शरीरमा राम्रोसँग रक्त संचार हुन्छ र पर्याप्त अक्सिजन पुग्छ।
३. न्यानो कपडा लगाउने, घर बाहिर निस्कँदा मास्क लगाउने र ह्यान्ड स्यानिटाइजर पनि बोकेर हिँड्ने गर्नु पर्छ। जसले गर्दा चिसो एलर्जीबाट बच्न सकिन्छ।
४. प्रेसर, दम,मुटु, बाथ तथा अन्य दिर्घ बिरामीले नियमित आफ्नो औषधि सेवन गर्ने र दमका बिरामीले इन्हेलर प्रयोग गरिरहेका छ्न् भने नछुटाउने। बढि उमेर समुहका बिरामी छ्न् भने फ्लूको भ्याक्सिन पनि लगाउँदा उपयुक्त हुन्छ।
५. धूम्रपान र मध्यपानबाट टाढै रहने।
६. जथाभावी औषधिधिहरु प्रयोग नगर्ने। सामान्य रुघा खोकी या टाउको दुखेको छ भने बाफ लिने या प्यारासिटामोल खाने। बढीनै गाह्रो भएमा चिकित्सकको सल्लाह लिनु पर्दछ ।
७. बिहानको घाममा पर्याप्त भिटामिन डी पाइने हुनाले घाम ताप्नुपर्छ ।
८. जाडोमा डिप्रेसनको पनि संभावना हुने भएकोले सबैले आफ्नो मानसिक स्वास्थ्यको पनि ध्यान दिनुपर्छ। साथिभाइ, परिवारलाई दुःख सुखका कुराहरु सुनाउने गर्ने, योग गर्ने गर्नुपर्छ । यति गर्दा पनि छटपटी उकुसमुकुस भइरहेमा मनोचिकित्सकको सल्लाह पनि लिनुपर्छ।
प्रतिक्रिया