२०८३ साउन १० गते
काठमाडौं । नेपालका अग्रणी बहुविशेषज्ञ अस्पतालमध्ये एक ह्याम्स अस्पताल र भारतको प्रतिष्ठित म्याक्स सुपर स्पेशालिटी अस्पताल, साकेत (नयाँ दिल्ली) बीच नेपाली बिरामीलाई अन्तर्राष्ट्रियस्तरको विशेषज्ञ स्वास्थ्य सेवामा सहज पहुँच उपलब्ध गराउने उद्देश्यसहित रणनीतिक सहकार्य भएको छ।
यस सहकार्यको औपचारिक घोषणा काठमाडौंस्थित र्याडिसन होटलमा आयोजित कार्डियाक तथा थोरेसिक शल्यचिकित्सामा हालका प्रगतिहरू विषयक निरन्तर चिकित्सा शिक्षा कार्यक्रममा गरिएको हो।
ह्याम्स अस्पतालका अनुसार सहकार्यको मुख्य उद्देश्य जटिल तथा विशिष्टीकृत उपचार आवश्यक पर्ने नेपाली बिरामीलाई विश्वस्तरीय विशेषज्ञ सेवासँग जोड्नु, व्यवस्थित रेफरल प्रणाली विकास गर्नु तथा उपचारअघि र उपचारपछिको गुणस्तरीय स्वास्थ्य सेवा सुनिश्चित गर्नु हो।
कार्यक्रममा नेपाल र भारतका ख्यातिप्राप्त कार्डियोथोरेसिक तथा थोरेसिक शल्यचिकित्सा विशेषज्ञहरूले अत्याधुनिक शल्यचिकित्सा प्रविधि, न्यून चिरफार (मिनिमली इनभेसिभ) शल्यक्रिया, जटिल बिरामी व्यवस्थापन तथा बहुविषयगत उपचार प्रणालीका नवीन अभ्यासबारे आफ्ना अनुभव, अनुसन्धान र ज्ञान आदानप्रदान गरेका थिए।
कार्यक्रमलाई सम्बोधन गर्दै ह्याम्स अस्पतालका अध्यक्ष आर। एस। भण्डारी ले म्याक्स सुपर स्पेशालिटी अस्पताल, साकेतका कार्डियोथोरेसिक तथा भास्कुलर सर्जरी विभागका अध्यक्ष एवं प्रमुख डा। रजनीश मल्होत्रा, थोरेसिक सर्जरी विभागका निर्देशक डा। शैवाल खण्डेलवाल लगायत विशेषज्ञ चिकित्सकहरूको स्वागत गरेका थिए।
उनले नेपालमा आधुनिक स्वास्थ्य सेवा तथा विशेषगरी मुटुरोग र कार्डियोथोरेसिक शल्यचिकित्साको विकासमा योगदान पुर्याएका डा। भगवान कोइराला, डा। प्रकाश सायमी, डा। रञ्जन सापकोटा र डा। ज्योतिन्द्र शर्मा सहित ह्याम्स अस्पतालका वरिष्ठ विशेषज्ञ चिकित्सकहरूको योगदानको प्रशंसा गरे।
अध्यक्ष भण्डारीले म्याक्स हेल्थकेयरसँगको सहकार्यले जटिल स्वास्थ्य समस्या भएका नेपाली बिरामीलाई विश्वस्तरीय विशेषज्ञ सेवासँग अझ प्रभावकारी रूपमा जोड्ने विश्वास व्यक्त गरे। उनका अनुसार यस सहकार्यमार्फत उपचारपूर्व विशेषज्ञ परामर्श, उपचार समन्वयदेखि उपचारपछिको निरन्तर फलोअपसम्मको संरचित स्वास्थ्य सेवा प्रणाली विकास हुनेछ।
उनले अन्तर्राष्ट्रिय मापदण्डअनुसारको गुणस्तरीय, सुरक्षित र बिरामीकेन्द्रित स्वास्थ्य सेवा उपलब्ध गराउनु नै ह्याम्स अस्पतालको लक्ष्य रहेको उल्लेख गर्दै यस्तो सहकार्यले दुवै संस्थाका स्वास्थ्यकर्मीबीच ज्ञान, सीप र अनुभव आदानप्रदानलाई समेत थप मजबुत बनाउने बताए।
सहकार्यअन्तर्गत विशिष्टीकृत उपचार आवश्यक पर्ने नेपाली बिरामीहरूले ह्याम्स अस्पतालमार्फत विशेषज्ञ चिकित्सकीय परामर्श, उपचार योजना, उपचार व्यवस्थापन तथा उपचारपछि नेपालमै निरन्तर फलोअप सेवासहित एकीकृत र समन्वित स्वास्थ्य सेवा प्राप्त गर्न सक्नेछन्।
ह्याम्स अस्पतालले यस सहकार्यलाई आफ्नो अन्तर्राष्ट्रिय साझेदारी विस्तार गर्ने महत्वपूर्ण उपलब्धिका रूपमा लिएको जनाएको छ। अस्पतालले यसबाट अन्तर्राष्ट्रिय मापदण्डअनुसार गुणस्तरीय, सुरक्षित तथा बिरामीकेन्द्रित स्वास्थ्य सेवा प्रदान गर्ने आफ्नो दीर्घकालीन प्रतिबद्धता अझ सुदृढ हुने विश्वास व्यक्त गरेको छ।
प्रतिक्रिया