२०८० पुस २४ गते
सोल । दक्षिण कोरियाले सन् २०२७ सम्ममा कुकुरको मासु मार्ने र बेच्ने कामलाई अन्त्य गर्ने लक्ष्य सहित नयाँ कानुन पारित गरेको छ । यो कानुनले कुकुरको मासु खाने शताब्दीयौं पुरानो चलन अन्त्य गर्नेछ।
कुकुरको मासुको स्ट्यु, जसलाई बोशिनटाङू भनिन्छ, केही पुराना दक्षिण कोरियालीहरूमाझ स्वादिष्ट मानिन्छ, तर मासु अब युवाहरूमाझ लोकप्रिय छैन। कोरियामा केहि दशक यता कुकुरको परीकार मेनुबाट हट्दै गएको छ । विशेष गरी युवा पुस्ता यसबाट टाढा छन् ।
कानून अन्तर्गत, कुकुरको मासु वितरण वा बेचबिखन जस्तै उपभोगको लागि कुकुर पाल्न वा काट्न निषेध गरिनेछ । यस कानुन अनुसार मासुको लागि कुकुर पाल्ने वा कुकुरको मासु बेच्नेलाई बढीमा दुई वर्षसम्म जेल सजाय हुन सक्छ। यद्यपि, कुकुरको मासुको उपभोग आफैमा गैरकानूनी हुनेछैन ।
किसान र रेष्टुरेन्ट मालिकहरूलाई रोजगारी र आम्दानीको वैकल्पिक स्रोत खोज्न समय दिने नयाँ कानुन तीन वर्षभित्र लागू हुनेछ । उनीहरूले आफ्ना व्यवसायहरू फेज आउट गर्ने योजना उनीहरूको स्थानीय अधिकारीहरूलाई पेश गर्नुपर्नेछ । सरकारले कुकुरको मासु किसान, कसाई र रेस्टुरेन्ट मालिकहरू जो आफ्ना व्यवसाय बन्द गर्न बाध्य हुनेछन् उनीहरुलाई पूर्ण रूपमा सहयोग गर्ने वाचा गरेको छ । यद्यपि के क्षतिपूर्ति प्रस्ताव गर्ने भन्ने कुरा सरकारले निर्णय गर्न बाँकी छ।
सरकारी तथ्याङ्क अनुसार दक्षिण कोरियामा सन् २०२३ मा करिब १६०० डग मीट रेस्टुरेन्ट र ११५० कुकुर फार्महरू छन् ।
प्रतिक्रिया