भारतको बजेट सार्वजनिक - मोबाइल र औषधिमा लाग्ने भन्सार महसुल घटाइयो

२०८१ साउन ०८ गते

भारतको बजेट सार्वजनिक - मोबाइल र औषधिमा लाग्ने भन्सार महसुल घटाइयो

काठमाडौं । भारतकी वित्त मन्त्री निर्मला सीतारमणले केन्द्रीय बजेट प्रस्तुत गरेकी छिन् । तेस्रो पटक सत्तामा आएपछि केन्द्रमा नरेन्द्र मोदी सरकारको यो पहिलो बजेट हो ।

बजेटमा औषधि र चिकित्सा उपकरणमा भन्सार घटाउने घोषणा गरिएको छ । यसले क्यान्सरसँग सम्बन्धित केही अन्य औषधिको मूल्य घटाउनेछ। मोबाइल र चार्जरमा लाग्ने भन्सार महसुल पनि १५ प्रतिशतले घटाएको छ । यसले फोन सस्तो हुनेछ ।

Advertisement:

Ad
Ad

सुन र चाँदीको भन्सार महसुल ६ प्रतिशतले घटाउने घोषणा गरिएको छ । २५ महत्वपूर्ण खनिजमा भन्सार छुटको घोषणा गरिएको छ ।

अमोनियम नाइट्रेटमा १० प्रतिशत भन्सार बढाइएको छ। ननबायोडिग्रेडेबल प्लाष्टिकको भन्सार महसुल २५ प्रतिशतले बढेको छ । धितोपत्र बजारमा एक वर्षभन्दा कम अवधिमा गरिएको लगानीमा कर १५ बाट बढाएर २० प्रतिशत पुर्याइएको छ ।

धितोपत्र बजारमा एक वर्षभन्दा बढीको लगानीमा कर १० बाट १२ दशमलव ५ प्रतिशत पुर्याएको छ । केही प्रकारका दूरसञ्चार उपकरणमा भन्सार महसुल १० देखि १५ प्रतिशतसम्म बढाइएको छ ।

बजेटमार्फत नयाँ कर प्रणाली छनोट गर्नेहरूका लागि मानक कटौती रु ५० हजारबाट बढाएर रु ७५ हजार पुर्याइएको छ ।

नयाँ कर प्रणाली अन्तर्गत ३ लाखसम्मको कमाइमा कुनै कर लाग्ने छैन । ३ देखि ७ लाखसम्म ५ प्रतिशत, ७ देखि १० लाखसम्म १० प्रतिशत, १० देखि १२ प्रतिशतसम्म १५ प्रतिशत, १२ देखि पन्ध्र प्रतिसम्म २० र १५ लाखभन्दा माथि ३० प्रतिशत कर लाग्नेछ ।

पुरानो कर प्रणालीमा कुनै परिवर्तन गरिएको छैन। सीतारामनले आयकर ऐन छ महिनाभित्र पुनरावलोकन गरिने बताइन् । आयकरलाई सहज बनाइने पनि उनले उद्घोष गरिन् ।

बजेटमा पुँजीगत लाभ छुट सीमा २५ हजार रुपैयाँ बढाएर १ लाख २५ हजार पुर्‍याइएको छ । दीर्घकालीन पुँजीगत लाभकर अर्थात एक वर्षभन्दा बढीको लगानीमा नाफा १० प्रतिशतबाट बढाएर १२ दशमलव ५ प्रतिशत पुर्‍याइएको छ । अल्पकालीन पुँजीगत लाभकरको सीमा २० प्रतिशत पुर्‍याइएको छ । पहिले १० प्रतिशत थियो ।

शिक्षा र रोजगारीका लागि बजेटमा १.४८ लाख करोड रुपैयाँ राखिएको निर्मला सीतारमणले बताइन्। बजेट रोजगारी, तालिम, एमएसएमई र मध्यम वर्गमा केन्द्रित हुनेछ।

बजेटमा बिहार र आन्ध्र प्रदेशका लागि छुट्टाछुट्टै ठूलो घोषणा गरिएको छ ।

बिहारका लागि नयाँ एयरपोर्ट र पुल निर्माण,पटना-पूर्णिया र बक्सर-भागलपुर एक्सप्रेस बनाउनेदेखि बाढी प्रभावितहरूको लागि लाग्ने परियोजनाहरूका लागि १ हजार करोड रुपैयाँ छुट्याइएको छ । आन्ध्र प्रदेशमा नयाँ राजधानी विकासका लागि १५ हजार करोड रुपैयाँ छुट्याइएको छ ।

यो बजेट अर्थमन्त्री निर्मला सीतारमणको सातौं बजेट हो । यो बजेटसँगै उनी लगातार सात पटक बजेट प्रस्तुत गर्ने पहिलो भारतीय अर्थमन्त्री बनेकी छन् । यसअघि यो कीर्तिमान मोरारजी देसाईको नाममा थियो जसले लगातार ६ पटक बजेट प्रस्तुत गरेका थिए ।

पाँच वर्षमा केन्द्र सरकारले २० लाख युवालाई तालिम दिने लक्ष्य राखेको छ । स्वदेशी संस्थामा अध्ययन गर्न १० लाखसम्मको शैक्षिक ऋण दिने घोषणादेखि प्रत्येक वर्ष एक लाख विद्यार्थीलाई ऋण रकममा तीन प्रतिशत वार्षिक ब्याज छुट दिनसम्मको घोषणा बजेटमा छ ।

रोजगारी, सीप तालिम र अन्य अवसरहरू उपलब्ध गराउन पाँच वर्षमा २ लाख करोड रुपैयाँ खर्च गरिनेछ । यसबाट ४।१ करोड युवा लाभान्वित हुने प्रक्षेपण भारत सरकारको छ ।