बैंक तथा वित्तीय संस्था परिसंघ अध्यक्षबाट गोल्यानले दिए राजीनामा,अध्यक्षमा उपेन्द्र पौडेल चयन

२०८० पुस २६ गते

बैंक तथा वित्तीय संस्था परिसंघ अध्यक्षबाट गोल्यानले दिए राजीनामा,अध्यक्षमा उपेन्द्र पौडेल चयन

काठमाडौं । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को अध्यक्षमा नबिल बैंकका अध्यक्ष उपेन्द्र पौडेल चयन भएका छन् । पुस २५ गते बसेको कार्यसमिति बैठकले अध्यक्ष पवनकुमार गोल्यानले पदबाट दिएको राजीनामा स्वीकृत गरी पौडेललाई सर्वसम्मत रुपमा अध्यक्ष चयन गरेको हो ।

एनएमबि बैंकको आसन्न साधारण सभाबाट बैंकको सञ्चालक समितिबाट अलग हुन गइरहेको पूर्वजानकारीसहित संस्थाको विधानको भावना र मर्मलाई आत्मसाथ गर्दै पदीय आचरण र नैतिकताका आधारमा गोल्यानले अध्यक्ष पदबाट राजीनामा दिएका हुन् ।

Advertisement:

Ad
Ad

सिबिफिनको तदर्थ समितिको गठनदेखि हालसम्म नेतृत्व लिँदै आएका गोल्यानको चारवर्षे कार्यकालमा सिबिफिनले आफूलाई देशभित्र मात्र नभई अन्तर्राष्ट्रिय समुदायमा समेत स्थापित गर्न सफल भएको उनी बताउँछन् ।

निवर्तमान अध्यक्ष गोल्यानको राजीनामासँगै रिक्त अध्यक्ष पदमा परिसंघको वरिष्ठ उपाध्यक्ष राजेश उपाध्यायको अध्यक्षतामा बसेको कार्यसमितिको १५ औं बैंठकले नबिल बैंकका अध्यक्ष तथा सिबिफिनको कार्यसमिति सदस्य उपेन्द्र पौडेललाई सर्वसम्मत रूपमा अध्यक्ष चयन गरेको हो।

अध्यक्षमा सर्वसम्मत चयन भएका पौडेल विगत तीन दशकदेखि बैंकिङ क्षेत्रमा क्रियाशील छन्। सन् १९८६ मा स्ट्यान्डर्ड चार्टर्ड बैंकबाट बैंकिङ सेवामा प्रवेश गरेका पौडेलले एनएमबी बैंकको प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी समेत कुशलतापूर्वक निर्वाह गरेका थिए ।

एनएमबी बैंकको प्रमुख कार्यकारी अधिकृतबाट अवकाश लिए पछि उनी नबिल बैंकको सञ्चालक हुँदै हाल अध्यक्ष रहेका छन् ।