अर्थतन्त्रको ड्राइभिङ सिटमा आइपुगे खनाल, जेनजी आन्दोलनले थला परेको अर्थतन्त्र सक्लान त उकास्न ?

२०८२ भदौ ३० गते

अर्थतन्त्रको ड्राइभिङ सिटमा आइपुगे खनाल, जेनजी आन्दोलनले थला परेको अर्थतन्त्र सक्लान त उकास्न ?

काठमाडौं । जेनजी आन्दोलनले थलिएको देशको अर्थतन्त्र सुधार्न अर्थमन्त्रीको रुपमा रामेश्वर खनालको इन्ट्रि भएको छ । देशको अर्थतन्त्रलाई नजिकबाट नियालिरहेका खनालको मन्त्री पदको परिक्षा आजबाट शुरु भएको छ ।  पूर्व अर्थसचिव रामेश्वर प्रसाद खनालले सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारमा अर्थमन्त्रालयको जिम्मेवारी सम्हालिसकेका छन् । शिलत र सालीन छवि बनाएका खनाल आफ्नो कर्तव्य निर्वाहमा राजनीतिको छायाँ पर्न नदिने व्यक्तित्वको रुपमा चिनिन्छन् । यसैले त उनको आगमनमा अर्थतन्त्र जगतले धेरै अपेक्षा र केही राहत समेत महसुस गरेको छ । 


जेनजी आन्दोलनको बलमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको सत्ता पलट गरेसँगै अन्तरिम सरकारको अर्थमन्त्रालको जिम्मेवारी खनालले सम्हालेका हुन् ।पूराना राजनीतिक दल र तिनका नेता तथा कार्यकर्ताहरुको सत्ता स्वार्थ, भ्रष्टाचार र व्यक्तिगत स्वार्थको राजनीतिले वाक्क भएको नेपाली समाजले अब भने मुलुकमा केही सकारात्मक परिवर्तन हुने अपेक्षा पनि गरिरहेको छ ।
यद्यपी, यतिबेला जेनजी आन्दोलनका कारण भएको ठुलो क्षतिका कारण मुलुकको अर्थतन्त्र पनि तहसनहस भएको अवस्थामा छ ।

Advertisement:

Ad
Ad


यस्तो शुन्यमा पुगेको मुलुकको अर्थतन्त्र सम्हाल्ने हिम्मत गरेर अर्थमन्त्रीमा नियुक्त भएका खनाल केहि महिना अघिसम्म तत्कालीन प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकारले उच्चस्तरीय आर्थिक सुधार सुझाब प्रतिवेदनका लागि उनैलाई जिम्मा लगाएको थियो । त्यसबेला उनले तत्कालीन सरकारलाई ४४७ पृष्ठ लामो आर्थिक सुधारसम्बन्धी प्रतिवेदन बुझाएका थिए ।
अर्थतन्त्र सुधारको बुटीको रुपमा हेरिएको उनको प्रतिवेदन कार्यान्वयन हुन नपाउँदै सरकार परिवर्तन भयो । यद्यपि आफैले दिएको सुझाव कार्यान्वयन गर्ने अवसर भने उनले पाएका छन् । 


नियुक्तिको चर्चामै खनाललाई अर्थमन्त्री बनाइन लाग्नु कार्की क्याविनेटको महत्वपूर्ण निर्णय भएको  भन्दै धेरैले तारिफ समेत गरेका थिए । खनालले आफु अर्थमन्त्री भएपनि तलब तथा सुविधा नलिने र स्वकिय समेत नराख्ने गरी गरेको निर्णयलाई धेरैले तारिफ गरेका छन् । उनको यो निर्णय अन्य मन्त्रीका लागि पनि पाठ हुने भन्नै टिप्पणी भइरहेको छ । 

खनाल आयोगको सो प्रतिवेदनमा मुलुकको अर्थतन्त्रका कमजोरीहरू के–के हुन्, ती समाधान गर्न आवश्यक तात्कालिक कदम र दीर्घकालीन उपायबारे विस्तृत सुझाव समेटिएको छ ।


वि.स. २०१३ साल असारमा पाल्पा जिल्लाको तानसेनमा जन्मिएका खनाल सानैदेखि अत्यन्तै प्रतिभाशाली थिए । तानसेनकै स्कुलबाट शैक्षिक यात्रा सुरु गरेका उनले कक्षा ८ सम्म लगातार प्रथम स्थान हाँसिल गर्न सफल भएका थिए ।विद्यार्थी जीवनमा उनी रेडक्रस सर्कल अध्यक्ष, विद्यार्थी सङ्गठन सल्लाहकार जस्ता भूमिकामा सक्रिय भए र स्नातकमा दोस्रो, स्नातकोत्तरमा तेस्रो स्थान हासिल गरे । जागिरे जीवनमा खनालले नेपाल राष्ट्र बैंक, राष्ट्रिय वाणिज्य बैंक र लोक सेवा आयोगमा लिखित परीक्षा पास गरे ।


उनले करिब १५ वर्ष ९ महिना शाखा अधिकृतको रूपमा काम गरे । २०५३ सालमा सहसचिव पदमा नियुक्त भई महालेखा नियन्त्रकको कार्यालयमा कार्यरत भए र २०५९ सालमा अर्थ मन्त्रालय सरुवा भए ।२०६३ सालमा सचिव बनेर २०६७ सालसम्म सेवा दिए, तर पूरक बजेट विवादका कारण अर्थसचिव रहँदाकै अवस्थामा उनले राजीनामा दिनुप¥यो ।


उनले सरकारी निर्णयमा स्वविवेकका आधारमा अवरोध गर्ने साहस देखाएका थिए, जस्तै आठ सय करार कर्मचारी स्थायी गर्ने प्रस्ताव अस्वीकार गर्नु, शेयर कारोबारी लगानीकर्तालाई वार्तामा आउन बाध्य बनाउनु र निजामती कर्मचारीको अधिकार रक्षा गर्नु उनले गरेका केही साहसिक कार्यहरु थिए । अर्थ मन्त्रालयको सचिवको रूपमा सेवारत रहँदा उनले नेपालको राजस्व–देखि–जीडीपी अनुपात १२ प्रतिशत भन्दा कमबाट १५.३ प्रतिशत सम्म पु¥याएका थिए । जुन वित्तीय प्रदर्शनमा महत्वपूर्ण उपलब्धि मानिन्छ ।


०७० सालमा उनी नेपाली काँग्रेसमा प्रवेश गरेपनि आफ्नो विवेकलाई राजनीतिक आवद्धतासँग सम्झौता गरेनन् । यस कारण उनलाई अर्थ मन्त्रालयले उच्चस्तरीय आर्थिक सुधार आयोगको नेतृत्व जिम्मा दिएको थियो । आयोगको प्रतिवेदन कार्यान्वयनका लागि चालू आर्थिक वर्षको बजेटमा प्रमुख सुझावको रूपमा समावेश गरिएको छ ।आफ्नो चार दशकभन्दा लामो करियरमा, खनालले नेपाल सरकारको जागिरसँगै शिक्षण क्षेत्र, र विभिन्न अन्तर्राष्ट्रिय विकासका विभिन्न उच्च पदहरू समेत सम्हालेका छन् र सुधारमुखी दृष्टिकोण तथा वित्तीय पारदर्शिताप्रति आफ्नो अडिग प्रतिबद्धताका लागि परिचित छन् ।


उनको प्रभाव शिक्षण क्षेत्रमा पनि फैलिएको छ, जहाँ उनले साउथ एशियन इन्स्टिच्युट अफ म्यानेजमेन्ट र काठमाडौं विश्वविद्यालयमा वित्त तथा व्यवस्थापन नियन्त्रण विषयको अध्यापन समेत गराएका थिए ।प्रशासनिक भूमिकाहरूको अलावा, खनाल एक लेखक र स्तम्भकार पनि हुन् । सन् २०११ मा मात्र उनले विभिन्न पत्रपत्रिका र जर्नलहरुमा ५० भन्दा बढी लेखहरू प्रकाशन गरेका थिए । उनका आर्थिक नीतिमा आधारित विचारहरूले सार्वजनिक विमर्श र नीति निर्माणमा अझै प्रभाव पार्दै आएका छन् ।


अन्तरिम सरकारको अर्थमन्त्रीका रूपमा अर्थतन्त्र सुधारको जिम्मेवारी पाएका उनीसामू छोटो समयमै आफ्नै प्रतिवेदन कार्यान्वयन गर्दै देशको आर्थिक इतिहासमा नयाँ भूमिका निर्वाह गर्ने चुनौती र अवसर रहेको छ ।