२०८३ जेठ १३ गते
काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ मा नेपालको आर्थिक बृद्धिदर ३.८५ प्रतिशत रहने प्रारम्भिक अनुमान आर्थिक सर्वेक्षणले सार्वजनिक गरेको छ । गत आर्थिक वर्षमा यस्तो वृद्धिदर ४.४३ प्रतिशत रहेको थियो । चालु आर्थिक वर्षमा बागमती र गण्डकी प्रदेश बाहेक सबै प्रदेशको आर्थिक वृद्धिदर राष्ट्रिय औसतभन्दा न्यून रहने अनुमान छ ।
अर्थमन्त्री डा. स्वर्णिम वाग्लले पेश गरेको २०८२/८३ को आर्थिक सर्वेक्षणमा चालु आर्थिक वर्षको कुल गार्हस्थ्य उत्पादनमा प्राथमिक, द्वितीयक र सेवा क्षेत्रको योगदान क्रमशः २४.४६ प्रतिशत, १३.७३ प्रतिशत र ६१.८१ प्रतिशत रहने अनुमान छ ।
चालु आर्थिक वर्षमा कृषि र गैरकृषि क्षेत्रको वृद्धिदर क्रमशः १.५८ प्रतिशत र ४.५४ प्रतिशत रहने अनुमान छ । गत आर्थिक वर्ष यस्तो वृद्धिदर ३.०५ प्रतिशत र ४.१२ प्रतिशत रहेको थियो । चालु आर्थिक वर्षको कुल गार्हस्थ्य उत्पादन ६६ खर्ब ९ करोड रहने अनुमान छ । यसमा सबैभन्दा बढी बागमती प्रदेशको ३६.७ प्रतिशत र सबैभन्दा कम कर्णाली प्रदेशको ४।२ प्रतिशत योगदान रहने अनुमान छ ।
नेपालको अर्थतन्त्रमा उपभोगको हिस्सा उच्च रहेको छ । चालु वर्षको कुल गार्हस्थ्य उत्पादनमा उपभोगको अंश ९०।३ प्रतिशत रहने अनुमान छ । कुल उपभोगमा निजी क्षेत्र, सरकारी क्षेत्र र गैरसरकारी क्षेत्रको हिस्सा क्रमशः ९१.२६ प्रतिशत, ६.६२ प्रतिशत र २.१२ प्रतिशत रहने अनुमान छ ।
चालु आर्थिक वर्षमा अमेरिकी डलरमा प्रतिव्यक्ति कुल गार्हस्थ्य उत्पादन १ हजार ५ सय १३, प्रतिव्यक्ति राष्ट्रिय आय १ हजार ५ सय ३५ तथा प्रतिव्यक्ति कुल राष्ट्रिय खर्चयोग्य आय २ हजार ४४ पुग्ने अनुमान छ । प्रदेशगत रुपमा तुलना गर्दा चालु आर्थिक वर्षमा बागमती प्रदेशको प्रतिव्यक्ति आय सबैभन्दा बढी २ हजार ६ सय ४४ अमेरिकी डलर र मधेश प्रदेशको सबैभन्दा कम ९३४ अमेरिकी डलर रहने अनुमान छ । सार्वजनिक वित्तका अधिकांश परिसूचक मिश्रित अवस्थामा रहेका छन् ।
सरकारले हरेक वर्ष बजेट सार्वजनिक गर्नुअघि मुलुकको समग्र आर्थिक अवस्था, राजस्व, उत्पादन, लगानी, व्यापार तथा अन्य आर्थिक सूचक समेटिएको आर्थिक सर्वेक्षण सार्वजनिक गर्दै आएको छ ।
प्रतिक्रिया