२०८२ साउन ११ गते
साउन २१ देखि २५गते सम्म भृकुटीमण्डपमा आयोजना हुन लागेको पहिलो संस्करणको ‘नाइमा मोबिलिटी एक्स्पो २०२५’ को तयारी तीव्र गतिमा अघि बढिरहेको छ । हालसम्म स्टल बाँडफाडको काम भइसकेको छ । आयोजकले यो शोलाई अहिलेसम्मकै भब्य बनाउन कसरत गरिरहेको छ । गठन भएको ५ महिना नहुँदै नेपाल अटोमोबाइल इम्पोर्टर्स एण्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा)को सक्रियता र उपस्थिती राम्रो देखिएको छ । विभिन्न निकायमा सुझाव लिएर जानेदेखि नीतिगत छलफलमा सहभागी हुँदै आएको नाइमा अटोमोबाइलकै पुरानो संस्था नाडा भन्दा एक कदम अगाडी बढेर साउनमै अटो शो गर्दैछ । ‘नाइमा मोबिलिटी एक्स्पो २०२५’ र नेपालमा अटोमोबाइल क्षेत्रको भविश्य, अवसर र चुनौति लगायतका विषयमा केन्द्रित भएर नाइमाकी संस्थापक अध्यक्ष ऋतुसिंह वैद्यसँग वाणिज्यपोष्टकर्मीले गरेको कुराकानीको सम्पादित अंश :
सामान्यतया दशैंको अवसर पारेर त्यसैको नजिक नजिक अटो शो आयोजना हुन्थ्यो, यसपटक नाइमाले आयोजना गर्न लागेको अटो शो अलिक अगाडि नै भयो कि भनिएको छ, यस्तो हतार किन पर्यो तपाइँहरुलाई ?
यसपाली हामीले ५० वटा ठूला ब्राण्डका अटोहरु प्रस्तुत गर्दैछौँ , यति ठूला र धेरै ब्राण्डहरुलाई एकजुट पार्न समय लाग्ने भएकाले पनि अलिक अगाडीनै गर्न लागेका हौँ । सामान्यतया साउन १ पछि चाडवाड नजिक भएको महसुस हुन्छ त्यसैलै पनि यो समयमा अटो शो राख्दा ठिकै हुने ठानेका हौँ । यो नेपालको सबैभन्दा ठूलो अटो एक्स्पो हुनेमा हामी ढुक्क छौँ ।

नाइमा अटो शोमा नयाँ कुरा के हुनेछ ?
एक्स्पोमा ४८ वटा स्टल रहनेछन् भने ब्राण्डका हिसाबले ५० किसिमका हुने छन् । जसमा फोर ह्विलर, टु ह्विलर, कमर्सियल र एउटा थ्री ह्विलरको स्टल छ । पाँच दिनसम्म चल्ने एक्स्पोमा धेरै वटा ब्रान्डहरु आफ्नो नयाँ सवारी सार्वजनिक गर्ने तयारीमा छन् । विशेषगरी हामीले अहिलेसम्मका अटो एक्स्पोमा भएका कमी कमजोरीहरुलाई महसुस गरेर पार्किङमा ध्यान दिएका छौँ । आगन्तुकको पार्किङ सुविधाको राम्रो व्यवस्था गरेका छौँ । करिव २सय देखि २सय ५० गाडीहरु अट्ने गरी नाइमाले नेपाल पुलिस क्लबसँग मिलेर क्लबमा गाडी पार्किङको व्यवस्था गरेको छ । त्यसबाहेक हामीले पठाओसँग लजिस्टिक पार्टनरमा टाईअप गरेका छौँ । हामीले यो अटो शो अपांगमैत्री बनाएका छौँ । साथै पानी परेर अवलोकनकर्ता नभिजुन् भनेर भौतिक संरचना मिलाएका छौँ । स्वास्थ्यमा समस्या परिहाले डाक्टर एम्बलुलेन्स सबैको व्यवस्था गरेका छौँ । हाम्रो राम्रो प्रचार प्रसारका हिसावले पनि यो शो भव्य र ऐतिहाँसिक हुनेमा विश्वस्त छौँ ।
बजेट आयो,तपाइँहरुले सरकारलाई दिनुभएको सुझाव कति समेटियो?
बजेटमा हाम्रो सबै सुझाव नसमेटिएपनि केही सुझाव सम्बोधन भएका छन् । हाम्रो धेरै जसो सदस्यहरु ईभी गाडी आयातकर्ता हुनुहुन्छ । उहाँहरुलाई बजेटमा के कस्ता नीति आउला ? कर के कति बढेर आउने हो? भन्ने पीर चिन्ता थियो । सकारात्मक मान्नु पर्छ सरकारले ईभीमा कर लगाएन, तर आइसी इन्जिन,पेट्रोल गाडीमा र हाइब्रिड गाडीमा केही सहुलियत पाइएन, जुन हामीले माग गर्दै आइरहेका थियौँ ।
रसुवामा केही समय अघि गएको बाढी पहिरोले पुल बगायो, यसले मालसामान ढुवानीमा असर पुगेको छ । पुल अझै बनिसकेको छैन , यसले नाइमा मोबिलिटी शोमा असर पुग्छ कि पुग्दैन ?
हो नेपाल चीन नाका रसुवामा बाढीले पुर्याएको भौतिक तथा मानवीय क्षतिप्रति मेरो गहिरो दुःख छ । अहिले विश्व भरी नै वाावरणीय प्रभावको कारण नयाँ नयाँ वातावरणीय समस्याह्रु देखा परिरहेका छन् । लामो समय यसरी नै अवरोध भैरह्यो भने गाडी आयातकर्तालाई असर त पुगिनै हाल्छ तर अहिलेको यो शोमा भने खासै असर पुग्ने छैन । यो हाम्रो योजनाअनुसार नै हुनेछ ।

तपाइँको लामो समय अटो क्षेत्रको व्यापार व्यवसायमै बितेको छ, अहिले त नाइमाको संस्थापक अध्यक्ष नै हुनुभएको छ यो अनुभवले के भन्छ अहिले अटो क्षेत्रको मूल समस्या के हो ?
अटो सेक्टर प्रविधीको दु्रत परिवर्तनको मारमा परिरहेको छ । भर्खरै भर्खरै हामी विद्युतीय गाडीमा अभ्यस्त हुँदै छौँ । तर विश्व बजारमा हाइड्रोजन गाडी, सोलार प्यानेल गाडी हुँदै फ्लाइंग कार आइसकेको छ । कसरी कुन ढंगले यो क्षेत्रमा के विकास भएर आउँछ अनुमान गर्न सक्ने अवस्था छैन यस्तोमा अहिले हामी नयाँ जे आउँछ त्यसलाई आत्मसाथ गर्दै एक पछि अर्को गर्दै अघि बढ्ने अवस्थामा छौँ । नेपालको हकमा कुरा गर्दा एक्कासी नीतिहरु परिवर्तन हुने जोखिम धेरै छ । नीतिमा स्थिरता, करमा स्थिरता,फाइनान्सिङमा स्थिरता ल्याउन सकिए यो क्षेत्र निकै अघि बढ्नेछ । बाहिरी प्रविधी जे जस्तो आए पनि हामी त तयार छौँ । संसार जसरी परिवर्तन हुँदै अघि बढ्छ हामी त्यसरी अघि बढ्ने अवस्था रहन्छ ।
अटो मोबाइल सेक्टरकै कतिपय पाटोहरु नाइमासँग समेटिन बाँकी छ । कसरी समेट्ने योजना छ ?
हामीसँग अहिले ५० वटा ब्राण्ड आउनु भनेकै लगभग मूख्य अटो सेक्टर नै आयो भन्दा पनि हुन्छ । अहिलेलाई यो संस्था हामीले अटो र म्यानुफ्याक्चरर्सकै लागि भनेर गठन गरेका हौँ किनकि हाम्रो आवाज खासै बाहिर सुनिएको थिएन । नाइमाको गठनपछि अब विश्वास छ कि हाम्रो आवाज बजारदेखि सरकारसम्म बाहिर ल्याउन सहयोग हुने छ । तर आवश्यकता अनुसार हामी अन्य पाटोका व्यवसायीहरुलाई पनि बिस्तारै सबैलाई समेट्दै जानेछौँ ।
अहिले मूख्य रुपमा देखिएको समस्या भनौँ या चुनौति एउटै समूह या घरानाले धेरै थरी ब्राण्डको गाडीहरु आयात गरिरहँदा बिस्तारै नयाँ नयाँ गाडीहरु भित्रुयाइरहँदा कतिपय पुरानो ब्राण्ड आझेलमा परेको अझ भनौँ ब्राण्ड किल भएका छन् यसो हुनु ठिक हो र ?
हामीले ध्यान दिन पर्ने कुरा सबै भन्दा ठूलो कुरा ग्राहकले गाडी किन्दा प्यारेन्ट कम्पनी कुन हो राम्रो जानकारी लिएर खरिद गर्नू आवश्यक हुनछ । कति बलियो छ यो जानकारी लिनुपर्छ ।सरकारले ईभीमा धेरै सहुलियतपूर्ण करको व्यवस्था गरेको छ । आइसी इन्जिनको तुलनामा यसले व्यापारीहरुलाई ईभीका विश्वभरका गाडी ल्याउन उत्प्रेरित गरिरहेको छ यसले कतिपय ब्राण्डका गाडीहरु ओझेलमा पर्ने अवस्था पक्कै छ । तथापि ग्राहकले गाडी खरिद गर्दा आयात गर्ने मूल कम्पनी कुन हो राम्रोसँग बुझेर मात्र खरिद गर्नु पर्ने हन्छ ।
चिनियाँ गाडीहरुको लागि नेपाल प्रयोग गर्ने थलो बनेको गुनासो बढिरहेको छ, त्यस्तै हो त ?
हुनसक्छ तर खरिदकर्ता चनाखो भए समस्या रहँदैन । गाडी खरिद गर्न भन्दा अगाडी आफूले खरिद गर्दै गरेको गाडी विश्वबजारमा कुन मोडलको हो, कुन र्याङ्कमा छ, कुन कम्पनीको हो राम्रोसँग जानकार हुन आवश्यक छ ।
तपाइँले नाइमालाई लिड गरिरहनुभएको छ , व्यापारीहरुको ध्यान गाडी बिक्रीमा मात्रै हुन्छ ।अहिले सडकमा धेरै निजी गाडीहरु गुडिरहेका छन् तर सडक पूर्वाधारमा धेरै कमी कमजोरी छ ट्राफिक जामले नागरिक हैरान छन् । यसलाई कम गर्ने दायित्व त नाइमाको पनि रहन्छ होइन ?
पक्कै पनि हाम्रो काम गाडी बेच्ने मात्र होइन गाडी बेचेर हाम्रो दायित्व यतिमै सकिँदैन । त्यसैले नाइमाले पोलिसी एड्भोकसी, ट्राफिक व्यवस्थापन, डेटा रिसर्च लगायतका गरी विभिन्न विभाग खडा गरेका छौँ । ट्राफिक व्यवस्थापन विभागमार्फत सडक समस्याका बारेमा अध्ययन अनुसन्धान गरी सरकारलाई उचित राय दिने काम गरिरहेका छौँ ।
प्रतिक्रिया