२०८३ असार १३ गते
काठमाडौँ । भेनेजुएलामा आएको शक्तिशाली भूकम्पमा परी मृत्यु हुनेको संख्या ९२० पुगेको सरकारी अधिकारीहरूले पुष्टि गरेका छन् । गत बुधबार केही सेकेन्डको अन्तरालमा आएका दुई ठूला भूकम्पमध्ये दोस्रो ७।५ म्याग्निच्युडको रहेको थियो ।
भूकम्पका कारण ३,३६० भन्दा बढी व्यक्ति घाइते भएका छन् भने सयौँ भवनहरू भत्किएका छन् । राजधानी काराकास र त्यसको उत्तरी क्षेत्रमा रहेको ला गुइरा राज्य सबैभन्दा बढी प्रभावित भएका छन् ।
ला गुइरामा मुख्य बन्दरगाह र अन्तर्राष्ट्रिय विमानस्थल रहेका कारण यस विपद्ले देशको यातायात र आपूर्ति प्रणालीमा समेत गम्भीर असर पारेको छ । राष्ट्रिय सभाका प्रमुख जर्ज रोड्रिग्वेजका अनुसार अझै कम्तीमा १७२ जना मानिस भग्नावशेषभित्रै फसिरहेको आशंका गरिएको छ ।उद्धार टोलीहरूले भग्नावशेषबाट मानिसहरूलाई जीवितै निकाल्न प्रयास गरिरहेका छन् । धेरै परिवारहरू आफ्ना प्रियजनको पर्खाइमा तड्पिरहेका छन् ।
भेनेजुएलाको संकटग्रस्त आर्थिक अवस्था र कमजोर पूर्वाधारका कारण उद्धार कार्यमा थप चुनौती थपिएको छ । देशका अस्पतालहरूमा औषधि र स्वास्थ्य सामग्रीको चरम अभाव देखिएको छ । चिकित्सकहरूका अनुसार सामान्य अवस्थामा त उपचार गर्न कठिन हुने देशमा यति ठूलो विपद् झेल्न निकै मुस्किल परिरहेको छ ।
अन्तर्राष्ट्रिय समुदायले भेनेजुएलालाई सहयोगको हात अगाडि बढाएका छन् । बेलायतबाट विशेषज्ञ उद्धार टोली, कुकुर र ड्रोनसहितको सैन्य विमान पठाइएको छ भने अमेरिकाले १५० मिलियन डलर सहायता र युद्धपोतहरू परिचालन गरेको छ । नेदरल्याण्ड्स, मेक्सिको र स्विजरल्याण्डले पनि आफ्ना उद्धार टोलीहरू पठाएका छन् ।
राजनीतिक अस्थिरताका बीच कार्यवाहक राष्ट्रपति डेल्सी रोड्रिग्वेजले राहत र उद्धार कार्यको नेतृत्व गरिरहेकी छिन् । २१४ भन्दा बढी पराकम्पहरू गइसकेको यस अवस्थामा अझै पनि मृत्यु हुनेको संख्या बढ्न सक्ने अनुमान गरिएको छ । संयुक्त राष्ट्र संघले यस विपद्लाई सम्बोधन गर्न विश्वव्यापी सहयोगको अपिल गरेको छ ।
प्रतिक्रिया