२०८३ असार ३२ गते
काठमाडौं । जलवायु परिवर्तनका कारण बढ्दो विपद् जोखिमबीच दुर्गम क्षेत्रका मातृ तथा नवजात शिशु स्वास्थ्य सेवालाई थप सुरक्षित र निरन्तर बनाउन यूएनएफपीए नेपाल र प्यानासोनिक होल्डिङ्स कर्पोरेसनबीच साझेदारी भएको छ।
सम्झौताअनुसार कर्णाली प्रदेशको जाजरकोट र मधेश प्रदेशको रौतहट जिल्लाका स्वास्थ्य संस्था तथा महिला स्वास्थ्य स्वयंसेविकाहरूलाई १९८ थान प्यानासोनिक सोलार लालटिन उपलब्ध गराइनेछ। यसले विद्युत् अवरुद्ध हुने वा विपद्का बेला पनि जीवनरक्षक मातृ तथा नवजात स्वास्थ्य सेवा निरन्तर सञ्चालन गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।
काठमाडौं र टोकियोका प्रतिनिधिहरू सहभागी भएको अनलाइन हस्ताक्षर समारोहमा यो पहल जापान सरकारको आर्थिक सहयोगमा यूएनएफपीएद्वारा सञ्चालित ‘नेपालमा मातृ तथा बाल स्वास्थ्य सेवा र अनुकूलन क्षमता सुधार’ परियोजनाको परिपूरक कार्यक्रम भएको जानकारी दिइयो। परियोजनाले पहिरो, अत्यधिक चिसो लगायत जलवायुजन्य विपद्को उच्च जोखिममा रहेका क्षेत्रका स्वास्थ्य संस्थाहरूमा देखिएका पूर्वाधार तथा सेवा अभावलाई सम्बोधन गर्ने लक्ष्य राखेको छ।
यूएनएफपीए नेपालका प्रतिनिधि श्रीराम हरिदासले प्यानासोनिकको सहयोगप्रति आभार व्यक्त गर्दै दुर्गम तथा विपद् जोखिमयुक्त क्षेत्रमा अत्यावश्यक स्वास्थ्य सेवाको निरन्तरता सुनिश्चित गर्न यस्ता सरल तर प्रभावकारी प्रविधिको ठूलो महत्व रहेको बताए। उनका अनुसार सोलार लालटिनले अग्रपंक्तिमा खटिने स्वास्थ्यकर्मीलाई विद्युत् आपूर्ति अवरुद्ध भएको अवस्थामा समेत सुरक्षित प्रसूति तथा नवजात शिशु हेरचाह सेवा प्रदान गर्न सहज बनाउनेछ।
प्यानासोनिकको संस्थागत नागरिकता कार्यालयकी महाप्रबन्धक अकियो दोमोतोले कम्पनीको ‘लाइट अप द फ्युचर’ पहलमार्फत विद्युत् पहुँचबाट वञ्चित समुदायमा दिगो विकास, शिक्षा, स्वास्थ्य र आयआर्जनका अवसर विस्तार गर्न निरन्तर काम भइरहेको बताए। उनले यूएनएफपीएसँगको सहकार्यले नेपालका अग्रपंक्तिका स्वास्थ्य संस्थामा स्वच्छ र भरपर्दो उज्यालो पुर्याएर स्थानीय समुदायको जलवायु उत्थानशीलता बढाउन मद्दत गर्ने विश्वास व्यक्त गरे।
यूएनएफपीएका अनुसार सोलार लालटिन वितरणपछि चयन गरिएका स्वास्थ्य संस्थाहरूमा मातृ तथा नवजात स्वास्थ्य सेवा बिना अवरोध सञ्चालन गर्न सहयोग पुग्नेछ। यसबाट वार्षिक करिब ४७ हजार ८९८ महिला र नवजात शिशु प्रत्यक्ष लाभान्वित हुने अनुमान गरिएको छ। साथै रात्रिकालीन स्वास्थ्य सेवा, आकस्मिक स्वास्थ्य प्रेषण तथा महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाको गृहभेट कार्यक्रम पनि थप प्रभावकारी हुने जनाइएको छ।
यो पहलअन्तर्गत हालसम्म २० स्वास्थ्य संस्थाको जलवायु उत्थानशीलता मूल्याङ्कन, १० स्वास्थ्य संस्थाको जीर्णोद्धार तथा नौ वटा जलवायु–अनुकूल स्थानीय योजना निर्माणमा सहयोग भइसकेको यूएनएफपीएले जनाएको छ।
प्यानासोनिकले सन् २०२२ देखि यूएनएफपीएसँगको सहकार्यमा अफ्रिका र एसियाका विद्युत् पहुँच नभएका समुदायमा सोलार लालटिन वितरण गर्दै आएको छ। सन् २०१३ मा सुरु गरिएको ‘लाइट अप द फ्युचर’ अभियानअन्तर्गत हालसम्म गैरसरकारी संस्था, गैरनाफामूलक संस्था र अन्तर्राष्ट्रिय साझेदारहरूसँग मिलेर ३६ देशमा करिब १ लाख ३० हजार सोलार लालटिन वितरण गरिसकेको कम्पनीले जनाएको छ।
यूएनएफपीए संयुक्त राष्ट्रसंघको यौन तथा प्रजनन स्वास्थ्यसम्बन्धी एजेन्सी हो। यसले प्रत्येक गर्भावस्था योजनाबद्ध होस्, प्रत्येक सुत्केरी सुरक्षित होस् र प्रत्येक युवाले आफ्नो पूर्ण सम्भावना हासिल गर्न सकोस् भन्ने उद्देश्यका साथ विश्वभर काम गर्दै आएको छ।
प्रतिक्रिया