मुहान सुक्दा धारामा आएन पानी,तुलसीपुरमा ट्याङकरबाट पानी वितरण

२०८३ असार १५ गते

मुहान सुक्दा धारामा आएन पानी,तुलसीपुरमा ट्याङकरबाट पानी वितरण

तुलसीपुर (दाङ)। तुलसीपुर खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाअन्तर्गतका धाराहरूमा केही दिनदेखि पानी नआएपछि संस्थाले ट्याङकरबाट पानी वितरण गर्ने गरेको छ ।

संस्थाका कोषाध्यक्ष भोलाप्रसाद थापाका अनुसार दुईवटा ट्याङ्करबाट यसरी घरमै पानी वितरण थालिएको हो । “केही स्थानमा धारामा पानी जान सकेको अवस्था छैन”, उनले भेन, “त्यस्ता स्थानमा ट्याङ्करबाट भए पनि पानी पुर्याउने गरेका छौँ ।”

Advertisement:

Ad
Ad

तुलसीपुर–४, ६ र ७ का केही स्थानमा यसरी खानेपानीको समस्या हुने गरेको छ । तुलसीपुरको घोराही रोड, नयाँबस्ती, अरनिको टोल, बरुवागाउँ, जबरपुर, भिआइपी टोल, झुमरे, गाइडहरलगायत स्थानमा यसरी ट्याङकरबाट वितरण गर्ने गरिएको छ । तुलसीपुरमा एक करोड लिटरभन्दा बढी खानेपानीको माग रहेको भए पनि हाल ५० लाख लिटरमात्रै आपूर्ति हुँदै आएको छ ।

मुहान सुक्दा समस्या

यसरी खानेपानीको समस्या हुनुका कारण मुहान सुक्नु नै रहेको कोषाध्यक्ष थापाले बताए। उनका अनुसार हाल खानेपानीको दगेरा, बाख्रेको मुहान सुकेको छ । ती तुलसीपुर खानेपानीका अस्थायी मुहान रहेका छन् । त्यस्तै पहरे, धैरेनी, मुलकोट, चिसापानीको मुहानमा पानीको सतह घटेको छ । विगतभन्दा पानीको सतह घटेका कारण आपूर्तिमा समस्या रहेको कोषाध्यक्ष थापाले बताए ।

त्यस्तै, तुलसीपुर–६ कभर्डहल नजिकको डिपबोरिङसमेत सुकेको छ । गोलौरा र कार्यालय परिसरमा रहेको डिपबोरिङमा पनि पानीको सहत घटेको छ । कार्यालय परिसरको बोरिङमा १५ मिनेटमा छ हजार लिटरको ट्याङ्कर भरिने गरेको भए पनि हाल उक्त ट्याङ्कर भरिन ३५ मिनेटभन्दा बढी समय लाग्छ ।

पढ्ढाका दुईवटा बोरिङबाट अहिले नयाँ पानी आपूर्ति भएकाले डुम्रीगाउँलगायतका स्थानमा भने केही सहज भएको छ । त्यस्तै, विद्युत् अनियमितताले गर्दा पनि केही समस्या भने पारिरहेको छ । हाल तुलसीपुर खानेपानीका १० हजार बढी धाराहरू छन् ।