साउन १६ भित्र डिम्याट खाता रिन्यू नगरे खाता रोक्का हुने,यसरी गर्नुहोस् अनलाइनबाटै रिन्यू

२०८३ साउन १० गते

साउन १६ भित्र डिम्याट खाता रिन्यू नगरे खाता रोक्का हुने,यसरी गर्नुहोस् अनलाइनबाटै रिन्यू

काठमाडौं । डिम्याट (हितग्राही)खाताको वार्षिक नवीकरण शुल्क साउन १५ गतेभित्र नतिर्ने लगानीकर्ताको डिम्याट खाता साउन १६ गतेदेखि निष्क्रिय हुने भएको छ।

सीडीएस एन्ड क्लियरिङ लिमिटेडले सूचना जारी गर्दै तोकिएको समयभित्र वार्षिक शुल्क नबुझाउने खातामा रोक्का लगाइने जनाएको हो। डिम्याट खाता रोक्का भएपछि सम्बन्धित लगानीकर्ताले सेयर खरिद–बिक्री तथा डिम्याटमार्फत हुने अन्य सेवा उपयोग गर्न सक्ने छैनन्।

Advertisement:

Ad
Ad

सामान्यतया हरेक आर्थिक वर्षको असार मसान्तसम्म बुझाउनुपर्ने वार्षिक नवीकरण शुल्क यस वर्ष भने साउन १५ गतेसम्म तिर्न सकिने व्यवस्था गरिएको छ। डिम्याट खाताका लागि प्रत्येक वर्ष १०० रुपैयाँ नवीकरण शुल्क लाग्ने व्यवस्था छ। सीडीएससीका अनुसार हाल देशभर डिम्याट खाताको संख्या ८० लाख ९ हजार ६२३ पुगेको छ।

यस्तै, मेरो सेयर सेवाको वार्षिक शुल्क ५० रुपैयाँ पनि समयमै बुझाउन कम्पनीले आग्रह गरेको छ। हाल मेरो सेयरका सक्रिय प्रयोगकर्ताको संख्या ५१ लाख ४८ हजार ८९४ रहेको सीडीएससीले जनाएको छ।

मेरो सेयर प्रणालीमार्फत लगानीकर्ताले आईपीओ, एफपीओ तथा हकप्रद सेयरका लागि अनलाइन आवेदन दिन सक्ने व्यवस्था छ। त्यसैगरी, दोस्रो बजारमा कारोबार भएका सेयरको हस्तान्तरण प्रक्रिया पनि यही प्रणालीमार्फत सम्पन्न हुने गर्छ।

यसरी गर्न सकिन्छ अनलाइनबाट रिन्यू-

 

डिम्याट खाता नवीकरण अनलाइन प्रणाली मेरो सेयर तथा भुक्तानीका विभिन्न माध्यममार्फत पनि गर्न सकिन्छ ।यसका लागि शुरुमा मेरो सेयर ‘लगइन’ गर्नुपर्ने हुन्छ ।

 

मेरो सेयर खुलिसकेपछि दायाँ साइडमा माथि भएको आफ्नो नाममा क्लिक गर्ने त्यसपछि ‘एकाउन्ट इन्फर्मेसन’मा रहेको ‘रिन्यू एकाउन्ट’मा क्लिक गर्नुपर्दछ  । त्यसपछि भुक्तानीका माध्यम इसेवा, खल्ती, प्रभु पे, आईएमई पे, एनसीएचएल ९कनेक्ट आईपीएस० देखा पर्दछ ।

 

जुन माध्यमबाट भुक्तानी गर्न चाहेको हो, त्यसमै क्लिक गर्न सकिन्छ । मेरोसेयर र डिम्याट दुवै नवीकरण, मेरो सेयर वा डिम्याट नवीकरणमध्ये एक छनोट गर्नुपर्दछ । मेरो सेयर पनि बर्सेनि नवीकरण गर्नुपर्ने भएकाले नवीकरण नगरेकाले ‘मेरो सेयर एण्ड डिम्याट’ क्लिक गर्नुपर्ने हुन्छ ।

 

‘प्रोसिड’ मा क्लिक गरी भुक्तानी माध्यमको युजर नेम तथा पासवर्ड प्रयोग गरी लगइन गर्नुस् । भुक्तानी माध्यम (इसेवा, खल्ती, प्रभु पे, आईएमई पे, एनसीएचएल) लगइनपछि रकम ‘पे’ वा ‘सबमिट’ गर्नुहोस् ।