२०८३ साउन ११ गते
काठमाडौं । सशस्त्र प्रहरी बलको कीर्तिपुरस्थित विद्यालयमा करिब ११ करोड रुपैयाँ हिनामिना भएको प्रकरणमा पक्राउ परेकी इन्स्पेक्टर कल्पना गुरुङ र उनका प्रेमी भनिएका लीलाबहादुर लामाविरुद्ध भ्रष्टाचार मुद्दामा अनुसन्धान अघि बढाइएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दुवैजनामाथि औपचारिक अनुसन्धान सुरु गर्दै विशेष अदालतबाट १० दिन थुनामा राखेर अनुसन्धान गर्ने अनुमति लिएको हो।
आयोगले आइतबार उनीहरूलाई विशेष अदालतमा उपस्थित गराएको थियो। अदालतले प्रारम्भिक अनुसन्धानका लागि १० दिन थुनामा राख्न अनुमति दिएको विशेष अदालतकी प्रवक्ता पार्वती हितानले जानकारी दिइन्। यसअघि भने उनीहरूमाथि नेपाल प्रहरीले ठगी तथा आपराधिक लाभसम्बन्धी कसुरमा अनुसन्धान गरिरहेको थियो। सशस्त्र प्रहरी बलको पत्रका आधारमा उनीहरू गत असार २० गते पक्राउ परेका थिए।
अनुसन्धानका अनुसार इन्स्पेक्टर गुरुङले करिब ६ वर्षसम्म विद्यालयको लेखा अधिकृतका रूपमा कार्यरत रहँदा विद्यालयको आम्दानी कल्याण कोषमा दाखिला गर्नुको सट्टा गैरकानुनी रूपमा निकालेर आफ्ना सहयोगी लीलाबहादुर लामालाई उपलब्ध गराउँदै आएकी थिइन्। होटल तथा ट्राभल व्यवसाय सञ्चालन गर्दै आएका लामाले उक्त रकम फिर्ता गर्न नसकेपछि हिनामिना प्रकरण सार्वजनिक भएको अनुसन्धानमा खुलेको छ।
घटनापछि सशस्त्र प्रहरीले गठन गरेको आन्तरिक छानबिन समितिले हिनामिना योजनाबद्ध रूपमा भएको निष्कर्ष निकालेको छ। समितिले इन्स्पेक्टर गुरुङलाई मुख्य जिम्मेवार ठहर गर्दै विद्यालयका तत्कालीन कमान्डेन्टहरू दिगविजय सुवेदी, भूपेन्द्र केसी र रामजंग पाण्डेको गम्भीर लापरबाही पनि औंल्याएको छ। विद्यालयको करोडौँ रुपैयाँ आम्दानीको नियमित निगरानी नगरेको भन्दै कल्याण शाखाका सम्बन्धित अधिकारीहरू पनि छानबिनको दायरामा छन्।
स्रोतका अनुसार सशस्त्र प्रहरीमा लेखा अधिकृतको नियमित सरुवा हुने व्यवस्था भए पनि गुरुङ करिब ६ वर्षसम्म एउटै कार्यालयमा कार्यरत रहिन्। पछि नयाँ लेखा अधिकृत जिम्मेवारी सम्हालेर हिसाब-किताब मिलान गर्ने क्रममा वित्तीय अनियमितता उजागर भएको थियो।
प्रहरी र अख्तियारले फरक–फरक कानुनी आधारमा अनुसन्धान अघि बढाइरहेका छन् भने प्रकरणमा अन्य जिम्मेवार अधिकारीहरूको भूमिकाबारे पनि थप अनुसन्धान जारी रहेको छ।
प्रतिक्रिया