असोजसम्म सरकारको राजस्व २ खर्ब ५१ अर्ब संकलन,अघिल्लो वर्षको तुलनामा प्रगति कम

२०८२ कात्तिक ०२ गते

असोजसम्म सरकारको राजस्व २ खर्ब ५१ अर्ब संकलन,अघिल्लो वर्षको तुलनामा प्रगति कम

काठमाडौं । आर्थिक वर्ष २०८२र८३ को असोज महिनासम्म सरकारले जम्मा २ खर्ब ५१ अर्ब १८ करोड रुपैयाँ राजस्व संकलन गरेको छ, जुन सो अवधिको ३ खर्ब २१ अर्ब ५३ करोड को लक्ष्यको ७८.१२ प्रतिशत मात्र हो।

अर्थ मन्त्रालयअन्तर्गत राजस्व विभागका अनुसार चालू आर्थिक वर्षको लागि सरकारले १४ खर्ब ८० अर्ब रुपैयाँ राजस्व संकलनको महत्वाकांक्षी लक्ष्य लिएको छ। तर पहिलो तीन महिनामा लक्ष्य अनुसारको प्रगति नभएकाले आगामी महिनाहरूमा दबाब बढ्ने देखिएको छ।

Advertisement:

Ad
Ad

असोज महिनामा ९२ अर्ब राजस्व

सङ्कलित विवरणअनुसार, असोज महिनाको लागि छुट्याइएको लक्ष्य १ खर्ब ३ अर्ब ७ करोड रुपैयाँ थियो। सोही अवधिमा सरकारलाई जम्मा ९२ अर्ब ४७ करोड रुपैयाँ मात्र प्राप्त भयो, जसले लक्ष्यको ८९.७१ प्रतिशत पूर्ति गरेको छ। यद्यपि असोज महिनाको अन्तिम दिन अर्थात् असोज ३१ गते मात्रै ८ अर्ब ६ करोड संकलन भएको देखिन्छ, जुन राजस्व असुलीमा अन्तिम समयको चाप झल्काउने तथ्य हो।

अघिल्लो वर्षको तुलनामा प्रगति केही कम

गत आर्थिक वर्ष २०८१/८२ को यस्तै अवधिमा सरकारले २ खर्ब ५३ अर्ब १ करोड रुपैयाँ राजस्व संकलन गरेको थियो। त्यतिबेला असोजसम्मको लक्ष्य ३ खर्ब ९ अर्ब ९३ करोड थियो, जसको तुलनामा संकलन ८१.७ प्रतिशत थियो — जुन चालू आर्थिक वर्षको ७८.१२ प्रतिशतभन्दा केही राम्रो प्रदर्शन हो।

त्यस्तै, असोज महिनामा अघिल्लो वर्ष संकलन ८३ अर्ब ५० करोड रहेको थियो भने यो वर्ष सोही महिनामा ९२ अर्ब ४७ करोड राजस्व उठेको छ। यो करिब ९ अर्बको वृद्धिको संकेत हो, जसले सरकारको असोज महिनामा असुली गति केही वृद्धि भएको देखाउँछ।

चुनौती 

विश्लेषकहरूका अनुसार चालू आर्थिक वर्षको उच्च लक्ष्य प्राप्त गर्न आगामी महिनाहरूमा आयकर, मूल्य अभिवृद्धि कर भ्याट, भन्सार महसुल लगायत प्रमुख स्रोतबाट राजस्व संकलनमा तीव्रता ल्याउनुपर्ने आवश्यक छ। हालको गति हेर्दा राजस्व लक्ष्य हासिल गर्न सरकारलाई कडा नीति कार्यान्वयन गर्नुपर्ने अवस्था देखिएको छ।