सानिमा रिलायन्स लाइफको नाफा र बीमा व्यवसाय दुवैमा सुधार, बीमा शुल्क आर्जन १६ प्रतिशतले बढ्यो

२०८३ साउन २८ गते

सानिमा रिलायन्स लाइफको नाफा र बीमा व्यवसाय दुवैमा सुधार, बीमा शुल्क आर्जन १६ प्रतिशतले बढ्यो

काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गर्दै नाफा, बीमा व्यवसाय तथा सम्पत्तिमा सन्तोषजनक वृद्धि भएको जनाएको छ।

 

Advertisement:

Ad
Ad

विवरणअनुसार कम्पनीले समीक्षा अवधिमा ३८ करोड ३८ लाख रुपैयाँ खुद नाफा कमाएको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कम्पनीको खुद नाफा ३७ करोड ७४ लाख रुपैयाँ थियो। नाफामा आएको वृद्धिसँगै प्रतिशेयर आम्दानी ९ईपीएस० पनि ७ रुपैयाँ ५३ पैसाबाट बढेर ७ रुपैयाँ ६५ पैसा पुगेको छ।

 

कम्पनीको मुख्य व्यवसाय सूचक मानिने खुद बीमा शुल्क आर्जन उल्लेखनीय रूपमा बढेको छ। अघिल्लो वर्ष ६ अर्ब ७६ करोड ६ लाख रुपैयाँ रहेको खुद बीमा शुल्क १६ प्रतिशतभन्दा बढीले वृद्धि हुँदै ७ अर्ब ८५ करोड ४० लाख रुपैयाँ पुगेको छ।

 

यद्यपि, लगानी, कर्जा तथा अन्य स्रोतबाट हुने आम्दानीमा भने केही गिरावट आएको छ। यस्तो आम्दानी १ अर्ब ५७ करोड ६८ लाख रुपैयाँबाट ४।४६ प्रतिशत घटेर १ अर्ब ५० करोड ६५ लाख रुपैयाँमा सीमित भएको छ। त्यसका बाबजुद कम्पनीको कुल आम्दानी ८ अर्ब ६९ करोड १६ लाख रुपैयाँबाट बढेर ९ अर्ब ६० करोड ३१ लाख रुपैयाँ पुगेको छ।

 

जीवन बीमा कोषमा पनि उल्लेखनीय विस्तार भएको छ। अघिल्लो वर्ष १९ अर्ब २९ करोड ८१ लाख रुपैयाँ रहेको जीवन बीमा कोष बढेर २५ अर्ब १२ करोड रुपैयाँ पुगेको छ। त्यस्तै, कम्पनीको कुल सम्पत्ति २६ अर्ब ५७ करोड रुपैयाँबाट बढेर ३२ अर्ब २६ करोड रुपैयाँ पुगेको वित्तीय विवरणमा उल्लेख छ।

 

वित्तीय अवस्थातर्फ कम्पनीको प्रतिशेयर नेटवर्थ ११२ रुपैयाँ ६२ पैसा कायम रहेको छ भने सोल्भेन्सी अनुपात १।५७ रहेको छ। कम्पनीको चुक्ता पूँजी ५ अर्ब १ करोड ४९ लाख रुपैयाँ रहेको छ।

 

यस्तै, महाविपत्ति कोष १४ करोड ७८ लाख रुपैयाँबाट बढेर १८ करोड ५९ लाख रुपैयाँ पुगेको छ। तर, जगेडा कोष भने ५३ करोड २७ लाख रुपैयाँबाट घटेर ३५ करोड ९८ लाख रुपैयाँमा झरेको छ।