समानुपातिक निर्वाचनतर्फको एक करोड ५० लाख मतपत्र छापियो ,लगत्तै प्रत्यक्षतर्फको मतपत्र छाप्न शुरु हुने

२०८२ माघ १० गते

समानुपातिक निर्वाचनतर्फको एक करोड ५० लाख मतपत्र छापियो ,लगत्तै प्रत्यक्षतर्फको मतपत्र छाप्न शुरु हुने

काठमाडौं ।  निर्वाचन आयोगले समानुपातिक निर्वाचन प्रणालीतर्फको एक करोड ५० लाख थान मतपत्र छपाइ भइसकेको जनाएको छ ।

 

Advertisement:

Ad
Ad

मतपत्र छपाइकार्य यही माघ २ गतेदेखि जनक शिक्षा सामग्री केन्द्र लिमिटेडको छापाखानामा सुरु भएको थियो । अब ५० लाख थान मतपत्र छाप्न बाँकी रहेको छ ।समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न भए लगत्तै प्रत्यक्ष निर्वाचन प्रणालीतर्फको मतपत्र छपाइ सुरु हुने आयोगले जनाएको छ ।

 

प्रत्यक्षतर्फको उम्मेदवारको अन्तिम नामावली तय भइसकेको छ । मनोनयन पत्र दर्ता प्रयोजनका लागि एकप्रति मतदाता नामावली छपाइ गरी सबै जिल्लामा पुर्‍याइएको थियो ।आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा  तीन हजार ४०६ जना उम्मेदवारको नामावली आयोगले सार्वजनिक गरेको छ । आयोगले शुक्रबार नै निर्वाचन चिह्नसमेत प्रदान गरेको छ ।

 

आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार तीन हजार १७ पुरुष, ३८८ महिला र अन्यमा एक जना उम्मेदवार तय भएका छन् । उम्मेदवारी दर्तादेखि फिर्ता लिनेसम्म निर्वाचन कार्यक्रम शान्तिपूर्ण र उत्साहजनक रूपमा सम्पन्न भएको आयोगले उल्लेख गरेको छ ।

 

समानुपातिक निर्वाचन प्रणालीअन्तर्गतका उम्मेदवारको नामावली पनि प्रकाशित भइसकेको छ ।