सुनसरी घटनापछि सम्भावित द्वन्द निम्तिन नदिन रास्वपाले बोलायो सबै दलको बैठक,प्रधानमन्त्री र गृहमन्त्री अनुपस्थित अरु कोको सहभागी ?

२०८३ साउन १३ गते

सुनसरी घटनापछि सम्भावित द्वन्द निम्तिन नदिन रास्वपाले बोलायो सबै दलको बैठक,प्रधानमन्त्री र गृहमन्त्री अनुपस्थित अरु कोको सहभागी ?

काठमाडौं । सुनसरीमा एक जनाको मृत्यु हुने गरी भएको घटनापछि उत्पन्न तनावपूर्ण अवस्था, शान्ति–सुरक्षा र सामाजिक सद्भावका विषयमा साझा धारणा बनाउन राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० ले आह्वान गरेको सर्वदलीय बैठक अहिले सुरु भएको छ। तर, घटनाको प्रत्यक्ष जिम्मेवारीमा रहेको सरकारका दुई प्रमुख प्रतिनिधि प्रधानमन्त्री र गृहमन्त्री भने बैठकमा अनुपस्थित रहेका छन्।

 

Advertisement:

Ad
Ad

सिंहदरबारस्थित सार्वजनिक लेखा समितिको सभाहलमा सुरु भएको बैठकमा प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) र गृहमन्त्री सुधन गुरुङ सहभागी भएका छैनन्। सुनसरी घटनापछि सरकारको भूमिकामाथि प्रश्न उठिरहेका बेला सरकारका तर्फबाट मुख्य जिम्मेवार नेतृत्वको अनुपस्थितिलाई अर्थपूर्ण रूपमा हेरिएको छ।

सुनसरीमा भएको घटनापछि तराई–मधेशका विभिन्न जिल्लामा प्रदर्शन जारी छ भने सरकारको शान्ति–सुरक्षा व्यवस्थापनको विषयलाई लिएर आलोचना पनि भइरहेको छ। यही पृष्ठभूमिमा रास्वपाले राजनीतिक दलहरूबीच साझा समझदारी र सन्देशका लागि सर्वदलीय छलफल आयोजना गरेको हो।

बैठकमा नेपाली कांग्रेसका सभापति गगन थापा, संसदीय दलका नेता भीष्मराज आङ्देम्बे, नेपाल कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा (एमाले) का महासचिव शंकर पोखरेल, श्रम संस्कृति पार्टीका अध्यक्ष आर्यन राई, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देन, सांसद खुुस्बु ओली तथा जनमत पार्टीका अध्यक्ष सीके राउतलगायत विभिन्न दलका शीर्ष नेताहरू सहभागी भएका छन्।

 

रास्वपाका महामन्त्री विपिन आचार्यका अनुसार सुनसरीको संवेदनशील घटनापछि उत्पन्न परिस्थितिमा सामाजिक सद्भाव कायम राख्न र थप द्वेष फैलिन नदिन राजनीतिक तहबाट पनि साझा अपिल आवश्यक ठानिएकाले बैठक आयोजना गरिएको हो।

 

‘अत्यन्तै संवेदनशील र दुःखद घटनापछि उत्पन्न असहज परिस्थितिमा सामाजिक रूपमा फैलन सक्ने द्वेष न्यूनीकरण गर्दै सद्भाव र शान्ति–सुरक्षा कायम गर्न प्रशासनिक प्रयास जारी छ। त्यससँगै राजनीतिक रूपमा पनि साझा सन्देश र अपिल आवश्यक महसुस भएकाले सर्वदलीय छलफल आयोजना गरेका हौं,’ आचार्यले भने।

 

बैठकमा सुनसरी घटनापछिको सुरक्षा अवस्था, सामाजिक सद्भाव कायम गर्ने उपाय तथा राजनीतिक दलहरूको साझा धारणा तयार गर्ने विषयमा छलफल भइरहेको जनाइएको छ।