२०८३ साउन २१ गते
काठमाडौँ । बिहीबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ओरालो लागेको छ। अघिल्लो कारोबार दिन सामान्य सुधार देखिएको बजारले बिहीबार भने पुनः गिरावटको बाटो समातेको हो। यस दिन नेप्से परिसूचक १३.८२ अंकले घटेर २६५४.१५ विन्दुमा कायम भएको छ।
उपसमूहतर्फ १३ मध्ये केवल एक उपसमूहको परिसूचक बढ्दा बाँकी १२ उपसमूह ओरालो लागेका छन्। व्यापार उपसमूह ०.५९ प्रतिशतले बढेर हरियो रहँदा उत्पादन तथा प्रशोधन उपसमूहमा सबैभन्दा ठूलो गिरावट देखिएको छ। उक्त उपसमूहको परिसूचक ९३.०४ अंकले घटेको हो।
सूचक घटे पनि कारोबार रकममा भने सुधार देखिएको छ। बुधबार ४ अर्ब ४० करोड रुपैयाँ बराबरको कारोबार भएको बजारमा बिहीबार कुल कारोबार रकम ४ अर्ब ६२ करोड २७ लाख ७७ हजार रुपैयाँ पुगेको छ।
कारोबार रकमका आधारमा रिडी पावर कम्पनी शीर्ष स्थानमा रह्यो। कम्पनीको ४७ करोड २४ लाख रुपैयाँभन्दा बढीको शेयर किनबेच भएको छ। त्यसपछि आँखु खोला जलविद्युत कम्पनी को २६ करोड ५० लाख रुपैयाँभन्दा बढी र सोलु हाइड्रोपावर को २३ करोड ५० लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ।
बजारमा अप्पर लोहोरे खोला हाइड्रोपावर का लगानीकर्ताले सर्वाधिक कमाइ गरेका छन्। कम्पनीको शेयर मूल्य सकारात्मक सर्किट लाग्दै ५३ रुपैयाँ १० पैसा बढेर प्रतिकित्ता ४०७ रुपैयाँ २० पैसामा अन्तिम कारोबार भएको हो। यद्यपि, अन्य सबै बढेका कम्पनीहरूको मूल्य वृद्धि भने ५ प्रतिशतभन्दा कममै सीमित रह्यो।
प्रतिक्रिया